घर बिदामा रहेका प्रहरी जवान गिरी मृतावस्थामा फेला


वीरगञ्ज – घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पर्साको पोखरिया नगरपालिका–१ वनकटवा घर भएका प्रहरी जवान रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् ।

इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भई प्रहरी चौकी कचोवा बारामा कार्यरत गिरी घर विदामा रहेको बेला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका

प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए ।

गिरीको शव शनिबार उनको साथीको कोठामा फेला परेको डीएसपी खनालले बताए । शुक्रबार बेलुका ६ बजेतिर घरबाट निस्किएका गिरी भोलिपल्ट शनिबार राति पोखरिया–४ पोखरीया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र बेहास अवस्थामा फेला परेका थिए ।

रौनियारको कोठामा गिरीकै भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामा गिरीलाई फेला पारी उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए । तर, गिरीको मृत्युको कारण भने अहिलेसम्म खुली नसकेको पनि डिएसपी खनालले बताए ।

डीएसपी खनालले गिरी मृत फेला परेको घरमा बस्ने दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘शवको बाहिरी चोटपटक केही देखिएको छैन, पोस्टमार्टमका लागि पठाएका छौं,’ उनले भने, ‘अब भिसेरा परीक्षणलगायत गरेपछि मृत्युको कारण खुल्नेछ ।’

प्रतिक्रिया