विषादी उत्पादन गर्ने उद्योगमा शिलबन्दी, कारवाही प्रक्रिया शुरू


बारा – अवैध रूपमा कीटनाशक विषादी उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले बिहीवार शिलबन्द गरी कारबाही प्रक्रिया शुरू गरेको छ ।

बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक विषादी उत्पादन गरेको पाइएपछि प्रशासनले शिलबन्दी गरेको जनाएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा खटिएको टोलीले विगत १२ वर्षदेखि अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरिरहेको विशेषरूपमा जानकारी आएपछि शिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

आम उपभोक्तालाई ठगी गरेको र अवैधरूपमा उत्पादन गरेकाले त्यसको छानबिन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए । ईलाका प्रहरी कार्यालय चितवन भण्डाराले उद्योगको माघ १ गते ९ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको अवैध कीटनाशक विषादी सहितको ट्रक नियन्त्रणमा लिएपछि अनुसन्धान गर्दा त्यसको अवैध कारोबारबारे प्रशासनमा जानकरी आएको बताइएको छ ।

ट्रकसहित सर्लाहीका सन्तोष शाहसहित ३ जनालाई भण्डारा प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राययादवको लगानी रहेको र उनीहरू फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया