ओली पदच्युत गर्ने छापामार निर्णय थाहा पाएपछि बामदेवले गरेका थिए मध्यस्तता


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री पदबाट अध्यक्ष केपी शर्मा ओलीलाई छापामार शैलीमा पदच्युत गर्ने चाल पाएपछि उपाध्यक्ष बामदेव गौतम सक्रिय भएको खुलेको छ।

शुक्रबार प्रचण्ड–नेपाल समूहले भेला गरेपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचना गौतमले पाएका थिए। उनलाई हस्ताक्षरका लागि बोलाइएको थियो। हस्ताक्षर प्रधानमन्त्री हटाउनका निम्ति भनेपछि गौतम त्यो भेलामा नै उपस्थित भएनन्।

बरु उनले त्यसैबेला प्रतिक्रिया दिए,‘यस्तो समूहगत भेलामा म उपस्थित हुन्न।’ यसपछि नेकपा विभाजनमा जाने संकेत देखेका उनले दुई अध्यक्षबीच समझदारी बनाउने कोशीश गरेका थिए।

गौतमको मध्यस्तताका आधारमा नै प्रधानमन्त्री ओली शनिबार प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए। डेढ घन्टासम्म कुराकानी भए पनि ओली–प्रचण्ड समझदारी बन्न सकेको थिएन। सोही बेला खुमलटारमा ओली बाहिरिनासाथ नेता माधवकुमार नेपाल पुगेका थिए। जसरी पनि ओलीलाई पदच्युत गर्नैपर्ने भनेपछि गौतम असन्तुष्ट भएर खुमलटारबाट बाहिरिएका थिए।

‘सबैभन्दा ठूलो दलभित्रको यो खिचातानीले अस्थिरता आउने भएपछि गौतम रुष्ट हुनुहुन्थ्यो, सचिवालयभित्रको विवाद स्थायी समिति र त्यसपछि केन्द्रीय समितिमा पुराएर समाधान खोज्ने पक्षमा हुनुहुन्थ्यो’, स्रोतले भन्यो,‘प्रचण्डलाई जसो तसो सहमतिमा ल्याउन सकिन्थ्यो तर माधव नेपालले मान्ने चेष्टा नै देखाउनुभएन। बरु धम्की दिनुभयो।’

आफ्नो पद नै धरापमा पर्ने देखेपछि ओलीले अप्रिय निर्णय गर्ने तयारीअनुसार गृहमन्त्री रामबहादुर थापा बादलको निवासमा पुगेका थिए। यो शिलशिला रोकिने सम्भावना भए पनि आइतबार बिहान अविश्वासको प्रस्ताव दर्ता नै गर्ने तयारीअघि मन्त्रिपरिषदको बैठक डाकेर ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरिदिए।

त्यसपछि राजनीतिक घटनाक्रम अन्तै मोडियो। नेकपा अब विभाजनको तयारीमा रहेको छ। भोली हुने केन्द्रीय समितिको बैठकमा ओलीलाई कारबाही गर्ने प्रस्ताव स्थायी समितिले बहुमतका आधारमा निर्णय गरेर पठाएको छ। केन्द्रीय समितिले कारबाहीको निर्णय गरेको खण्डमा नेकपा अन्ततः ठूलो फूटमा जानेछ। 

प्रतिक्रिया