
रवीन्द्र मिश्रको आक्रोश मलाई गाली गर्दैमा ‘अग्रगमन’ हुँदैन
काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले वर्तमान राज्य प्रणाली र पात्रहरूलाई ‘पश्चमागी’को उपमा दिएका छन्। देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र ‘पश्चगामी’ भएको उल्लेख गर्दै उनले हाल देश पश्चगामी यात्रामा रहेको दाबी गरेका हुन्।
त्यसलाई रोक्ने एक मात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार ल्याउनु भएको बताउँदै उनले अन्यथा आफूलाई गाली गर्दैमा अग्रगमन नहुने कटाक्ष गरेका छन्।
‘देशको स्वाभिमान, संस्था र शासनलाई भ्रष्ट र कमजोर बनाउने कुनै पनि प्रणाली र पात्र मेरा लागि ‘पश्चगामी’ हुन्। देश पश्चगामी यात्रामा छ’, अध्यक्ष मिश्रले मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसलाई रोक्ने एक मात्र उपाय देशको स्वाभिमान, संस्था र शासनमा व्यापक सुधार लेराउनु हो। अन्यथा, मलाई गाली गर्दैमा तथाकथित ‘अग्रगमन’ स्थापित हुँदैन।’
संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने प्रस्तावसहितको राजनीतिक दस्तावेज सार्वजनिक गरेयता मिश्रलाई गणतन्त्रविरोधी र राजावादी भएको आरोप लागिरहेको छ। सोही कारण उनको पार्टीसमेत फुटिसकेको छ। तत्कालीन संयोजक मिलन पाण्डे पक्ष उनीबाट अलग भइसकेको छ। उसो त उनैले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा पाण्डे र रञ्जु दर्शनालाई पार्टीबाट निष्कासन गरेका हुन्।



कागजपत्र |
