रुससँग भिड्न साढे ८ हजार अमेरिकी सेना तयारी अवस्थामा


एजेन्सी – युक्रेनमा रुसले आक्रमण गर्न सक्ने सूचनाका आधारमा अमेरिकाले आफ्नो सेना तयारी अवस्थामा राखेको छ।

पेन्टागनले युक्रेनको सीमामा तनाव बढ्न सक्ने भन्दै साढे ८ हजार सैनिक तयारी अवस्थामा राखेको जनाएको छ। यी सैनिक परिचालन कहिले गर्ने भन्नेबारे भने अमेरिकाले स्पष्ट पारेको छैन। पेन्टागनका प्रेस सचिव जोन किर्बीका अनुसार र्‍यापिड-रिएक्सन फोर्सलाई सक्रिय बनाउनेबारे नेटोले निर्णय गरेपछि मात्रै सैनिक परिचालन हुनेछ। ८ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले बताएको छ।

अमेरिकाले केही महिनादेखि रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको बताउँदै आएको छ। तर रुसले भने आफ्नो सैनिक आक्रमणका लागि परिचालित नभएको दाबी गर्दै आएको छ। रुसी दाबीका बाबजुद युक्रेनको सीमामा एक लाखभन्दा बढी रुसी सैनिक परिचालित छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत सोमबार आफ्ना युरोपेली सहयोगी देशहरुसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्दै रुसले युक्रेनमा आक्रमण गर्न सक्नेबारे बताएका थिए। यो छलफलमा सहभागी पश्चिमा देशहरु युक्रेनमा रुसले आक्रमण गरे एउटै रणनीतिमा अघि बढ्न सहमत भएका थिए।

प्रतिक्रिया