

चीनबाट फर्केपछि खुमलटार पुगे बर्षमान पुन

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका छन् । चार महिनाको उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् ।
श्रीमती ओनसरी घर्तीसहित खुमलटार पुगेका पुनलाई प्रचण्ड र उनका परिवारका सदस्यले पुनलाई खादा लगाएर स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
सोमबार स्वदेश फर्केलगत्तै पुनले पार्टीको महासचिवमा आफ्नो दाबेदारी रहने बताएका थिए । विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको उनको भनाइ छ ।
आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताएका थिए । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिवलगायत अन्य पदाधिकारी चुन्न बाँकी छ।
माओवादी केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गरेका छन् । केन्द्रको पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको छ ।

