यसकारण संसद विघटनको निर्णयमा पुगे प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेर संसद विघटनसँगै मध्यावधी चुनावको घोषणाको निर्णयले राजनीतिक वृत्त गर्माएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संसद विघटनको सिफारिस लिएर पुगेका प्रधानमन्त्री ओली यति कठोर निर्णयमा किन पुगे? उच्च स्रोतका अनुसार पार्टीमा प्रधानमन्त्री पद र अध्यक्ष दुवै खोस्ने मात्र होइन, विभिन्न अंगलाई समेत चलाउने रणनीतिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू पुगेको सूचना पाएपछि ओली यो हदसम्म पुगेका हुन्।

स्थायी समितिबाट कारबाही गर्ने र सदनको हिउँदे अधिवेशनमा अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने रणनीतिमा प्रचण्ड समूह लागेको सूचना ओलीले पाएका थिए। योसँगै प्रचण्ड–नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएर हटाउने तयारी समेत गरेको सूचना प्रधानमन्त्री ओलीले पाएका थिए।

‘अहिलेको कदम अप्रिय लाग्छ। तर प्रधानमन्त्रीले यो कदम नचालेको भए तीनवटा अप्रिय घटना गराउने तयारी भएको थियो। प्रधानमन्त्रीलाई हटाउने, राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानन्यायाधीशलाई पनि महाअभियोगको रापमा सेक्ने तयारी थियो’, उच्च स्रोतले भन्यो,‘यो तयारी थाहा पाएपछि प्रधानमन्त्री एक कदम अगाडि सरेका हुन्।’

प्रचण्ड–नेपाल समूहको उक्त तयारीका विषयमा नेकपा उपाध्यक्ष बामदेव गौतम जानकार भएकाले पछिल्ला चरणमा सहभागीता नै जनाउन छाडेका थिए । ‘विधि र पद्दतीको कुरा गरेर प्रलयको षडयन्त्र गर्न हुन्न’ भन्ने मान्यतामा गौतम पुगेका थिए। गौतमले त्यस्तो अवस्था आउन नदिनका लागि ओली र प्रचण्डबीच सहकार्य र समझदारीको भूमिका समेत खेलेका थिए।

प्रधानमन्त्री ओलीले यति अप्रिय निर्णय लिनुपर्ने अवस्थाका बारेमा गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमीमन्त्री पद्मा अर्याल, कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायतसँग शनिबारै सामान्य परामर्श गरिसकेका थिए।

सो क्रममा अर्को समूहको तयारीका बारेमा ब्रिफिङ गरेका उनले आफू त्यो भन्दा कठोर अवस्थामा पुग्ने बताएका थिए। सोही कारण पनि मन्त्रिपरिषदको बैठकमा ति मन्त्रीले प्रधानमन्त्रीको कमदमाथि कुनै टिप्पणी गरेनन्।

प्रतिक्रिया