

पर्ख र हेरको नीतिमा उपाध्यक्ष गौतम, ओलीइतर नेकपा नेताको बैठकमा गएनन्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम मन्त्रिपरिषदले गरेको संसद विघटन सिफारिसमा पर्ख र हेरको नीतिमा रहेका छन्।
नेकपा सचिवालयका अन्य नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त निर्णयलाई लोकतन्त्रविरोधी, गैरसंवैधानिक भनी प्रतिक्रिया दिएका बेला गौतमको यो धारणा सार्वजनिक भएको हो।
सरकारको कदमका विषयमा छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका बेला गौतम भने गएका छैनन्।
पार्टी विभाजनका लागि गुट र उपगुटका भेला र छलफल चलेको भन्दै गौतमले यस्ता बैठकमा सहभागी नहुने घोषणा गरेका थिए। उनले नेकपा अध्यक्षद्वय ओली र प्रचण्डलाई मिलाउने कोशीस गरेका थिए। तर अवस्था मिल्ने नभएपछि ओलीले संसद विघटनको हतियारलाई प्रयोग गरेका छन्। ओलीको यो कमदको सबै दलले आलोचना गरेका छन्।

