

राष्ट्रियसभा निर्वाचन – आजबाट मौन अवधि

काठमाडौँ – राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु भएको छ। गएराति १२ बजेबाट मौनअवधि सुरु भएको हो। निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आइतबार राति १२ बजेबाट मौनअवधि सुरु भएको जनाएको छ।
राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ पदमा निर्वाचन हुन लागेको हो। आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनअवधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको बताए। उनले यस समयमा निर्वाचनको मतदान हुने तीन सय वरपरको स्थानमा भएका पर्चा, पम्प्लेट र पोस्टरहरु हटाइनु पर्ने जानकारी दिए।
सहसचिव धमलाले मौन अवधिमा विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न पाइँदैन। मौन अवधिमा एसएमएस गर्ने, फेसबुकबाट, भाइबर, ट्वीटर इत्यादि सोसल मिडियाको प्रयोग गरेर प्रचारप्रसार गर्ने सबै बन्द गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बुँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताए।

