
निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दुराष्ट्र हटाउन भनेपछि कमल थापाको आपत्ति
काठमाडाैँ – काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले निर्वाचन आयोगको एउटा निर्देशनप्रति आपत्ति जनाएका छन् । आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत भएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले आयोगको निर्देशन अस्वीकार्य भएको पनि बताएका छन् । आयोगको उक्त निर्देशनसहितको पत्रप्रति नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक भएको उनले उल्लेख गरेका छन् ।
‘निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत छ । यो निर्णय अस्वीकार्य छ,’ उनले लेखेका छन्, ‘विगतमा आयोगको यस्तै निर्णयलाई संघर्षबाट हामीले उल्टाएका थियौँ । २०७८ माघ २ गते आयोगले पठाएको पत्रबारे वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र सो पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक छ ।’



कागजपत्र |
