एसईई परीक्षा वैशाखमा


काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले आगामी वैशाखको पहिलो साता परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिएका छन्। त्यसका लागि केही दिनमै परीक्षा तालिका सार्वजनिक गरिने उनले बताए।

यस वर्ष एसईई बोर्डले सञ्चालन गर्ने कि प्रदेश मातहत सञ्चालन हुने भन्ने अन्योल छ। तर, बोर्डले भने परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा नबस्न आग्रह गरेको छ।

‘विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘वैशाखमा परीक्षा सञ्चालन गरे पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गर्नेछौँ।’

सरकारले प्रत्येक वर्ष चैतमा एसईई परीक्षा सञ्चालन गर्दै आएको थियो। तर, विगत दुई वर्षदेखि कोरोना कहरको कारण एसईई परीक्षा नियमित सञ्चालन हुन सकेको छैन।

व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले पनि एसईई परीक्षाको विषयमा शिक्षक, विद्यार्थी र अभिभावक अन्योलमा छन्।

प्रतिक्रिया