भोटिया खोलामा पुल निर्माण हुने


सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ । रु चार करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निर्माण भइसक्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।
इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीयवासी अत्यन्तै लाभान्वित हुने बताइएको छ ।

खेतीपाती गर्न र कृषि उपज बजारसम्म पुर्‍याउनका लागि स्थानीय वासीलाई पुल अति नै आवश्यक भएकाले उपमहानगरपालिकाले पुल निर्माण गर्न लागेको हो । सो पुलको आज शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले नगरको स्रोतले भ्याएसम्म जनताको सेवामा समर्पित रहने बताए ।

उनले अहिलेसम्ममा सानाठूला गरी १९ वट पुल नगर क्षेत्रमा बनाइसकेको जानकारी दिँदै जनप्रतिनिधिको काम नै जनताको सेवा हो भने ।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए ।

वडा नं १५ का कार्यवाहक वडाध्यक्ष सुबोधनारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयवासीको एउटा ठुलो समस्या समाधान हुन लाग्दा खुसी व्यक्त गरे।

 

प्रतिक्रिया