


तारुकाका ४२ गोरू किसानलाई एक लाख ३६ हजार नगदसहित पदक!

नुवाकोट – नेपाली कांग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी ‘अविरल’ले नुवाकोटको तार्केश्वर गाउँपालिका– ३ मा माघे संक्रान्तिका दिन जुधाउन गोरू पाल्ने किसानहरुलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
सोमबार समाजसेवी अधिकारीले ४२ गोरुधनी किसानलाई कुल १ लाख २६ हजार नगद र ‘माघेसंक्रान्ति गोरुधनी किसान पदक–२०७८’ प्रदान गरेका हुन्।
तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व कोरोना महामारीको कारण स्थगित भएपछि किसानको मनोबल उच्च राख्न भन्दै उनले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए।
सोहिअनुरुप ४२ जना किसानलार्ई ३ हजारका दरले कुल १ लाख २६ हजार सामाजिक दुरी कायम गरी हस्तान्तरण गरिएको हो।
यसका साथै सबै गोरुपालक किसानलाई ‘माघेसंक्रान्ति गोरुधनी किसान पदक–२०७८’ मेडलसहित सम्मान गरिएको छ।
सांस्कृतिक रक्षार्थ जुटेका गोरूपालक किसानहरुलाई यो रकमसहितको सम्मानले मनोवल बढाउन मदत गर्ने उनको विश्वास छ। यो मेलाको संरक्षण र सम्बर्द्धनका लागि सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि नेता अधिकारीले जनाए।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले यो पटक कोरोना महामारीको कारण मेलालाई निरन्तरता दिन नसकेकोमा दुख व्यक्त गरे। मेलाको संरक्षणका लागि गोरूपालक किसानलाई प्रोत्साहन गर्न आवश्यक सहयोग गर्न वडा तयार रहेको जनाउ उनले दिए।

