
गोरुपालक किसान प्रोत्साहनका लागि एकलाख पुरस्कारको घोषणा
काठमाडौं – तारुकाको ऐतिहासिक गोरूजुधाई कार्यक्रम स्थगित भएपनि किसानको मनोबल उच्च राख्न नुवाकोटका शिव अधिकारी ‘अविरल’ ले एक लाखको पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त पुरस्कार राशीको घोषणा गरेका हुन्।
तारुकाकै गौरवको रुपमा स्थापित गोरुजुधाई कार्यक्रम स्थगित भएपनि स्थानीय नागरिक र गोरुपालक किसानको प्रोत्साहनका लागि उक्त पुरस्कार घोषणा गरेको अधिकारीले बताए।
‘यो पुरस्कार रकम सबै गोरुपालक किसानलाई दामासाही हिसाबले प्रदान गरिनेछ,’ अधिकारीले अनलाइनन्युज७ सँग कुरा गर्दै भने, ‘यो रकम सबै गोरुपालक किसानको मनोबल वृत्तिका लागि सहयोगसिद्ध हुनेछ, भन्ने मेरो बुझाइ हो।’
हरेक बर्ष माघेसंक्रान्तिको दिन नुवाकोट तारकेश्वर गाउँपालिका– ३ चन्दनीमा आयोजना हुँदै आएको ऐतिहासिक गोरुजुधाई पर्व यसपटक कोरोना महामारीको कारण स्थगित गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले महामारीलाई मध्यनजर गर्दै जिल्लाभित्र २५ जनाभन्दा बढि भेला गरेर कुनै पनि सभा, सम्मेलन, मेला–महोत्सव आयोजना नगर्न आग्रह गरेको छ।



कागजपत्र |
