चन्द्रागिरीमा चक्कु प्रहार गरी युवकको हत्या


काठमाडौं – चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। आइतबार दिउँसो १२ः५० बजेको समयमा चन्द्रागिरी–८ मातातिर्थ घर भई गुर्जुधारा बस्दै आएका रोशन रिजालको हत्या भएको हो।

एकआपसमा झगडा हुँदा २६ वर्षीय रिजालमाथि धारिलो हतियार प्रहार भएको थियो। घाइते रिजाललाई उपचारको लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएकोमा उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

रिजालको हत्यालगत्तै घटनामा संलग्न व्यक्तिहरु फरार भएका थिए। रिजालको हत्या अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा अनुज बस्नेत रहेका छन्। बस्नेतलाई महानगरीय प्रहरी प्रभाग बलम्बु र थानकोट वृत्तबाट खटिएको टोलीले बलम्बुबाट पक्राउ गरेको हो। त्यस्तै अर्का एक जनालाई धादिङको गजुरीबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको कारण खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। लागूऔषध विवादको क्रममा रिजालको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको र रिजालको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको एसपी मैनालीले बताए

प्रतिक्रिया