भारतविरुद्ध कांग्रेस र माओवादीले वक्तव्य जारी गरेपछि गोकुल बाँस्कोटा र सूर्य थापाले भने : यो के रमिता हो ?


काठमाडौँ – भारतद्वारा नेपाली भूमि अतिक्रमणविरुद्ध सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शुक्रबार छुट्टाछुट्टै निकालेका वक्तव्यप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताद्वय गोकुल बाँस्कोटा र सूर्य थापाले कटाक्ष गरेका छन्।

शुक्रबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गरेलगत्तै माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले पनि विज्ञप्ति निकालेर ‘लिपुलेकमा भारत सरकारले सडक बनाइरहेको छ’ भनेर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिको कडा विरोध गरेका हुन्।

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले संयुक्त हस्ताक्षरमा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपाली भूमि हो। यसबारेमा कांग्रेसले विगतदेखि नै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट गर्दै आएको छ।लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हो। नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रस्ट छ, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ।’

यस्तै माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले ‘भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग’ गर्दै विज्ञप्तिमार्फत भनेका छन्, ‘यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुःखी छौं। नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माण कार्य बन्द गराउन शीघ्रतिशीघ्र कूटनीतिक पहल गरोस्।’

सत्तारूढ दलका यिनै वक्तव्यविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताद्वय गोकुल बाँस्कोटा र सूर्य थापाले शुक्रबारै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले सत्तारूढ गठबन्धनका कुनै दलबाट जनताले ‘लोकप्रिय वक्तव्य’ होइन अतिक्रमित भूमि फिर्ताको प्रक्रिया अघि बढाएको हेर्न चाहेको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘जनताले सत्तारूढ दलको कुनै घटकको लोकप्रियतावादी वक्तव्य मागेका हैनन्, नेपाल सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरामा नेपालको व्यावहारिक स्वामित्व स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हेर्न चाहेका हुन्।’

यसो भनेर बाँस्कोटाले कांग्रेस तथा नेकपा माओवादी केन्द्र दुवै दलले निकालेका वक्तव्यको आलोचना गरेको बुझिन्छ भने यसअघि नै प्रतिक्रिया व्यक्त गरेका एमालेका अर्का नेता थापाले भने कांग्रेस महामन्त्रीद्वयले निकालेको वक्तव्यको मात्र आलोचना गर्न भ्याएका छन्।

उनले ट्विटरमा कांग्रेसको वक्तव्यका साथमा लेखेका छन्, ‘महामन्त्रीद्वयको वक्तव्य , प्रस्ट छौं– कुरा प्रस्टताको सार्वजनिकीकरण होइन, सरकारले समाधान गर्ने हो त ? यो सरकार कसको नेतृत्वको हो ? देउवा मौन, परराष्ट्र मन्त्रालय बेखबर, उहाँहरूको वक्तव्यबाजी ! यो के रमिता हो?? प्रस्ट जवाफ देऊ ?’

प्रतिक्रिया