भारतलाई माओवादी केन्द्रले भन्यो : लिपुलेक क्षेत्रमा सडक विस्तार तत्काल रोकियोस्

यस विषयमा सरकार मौन रहेको भन्दै आपत्ति


काठमाडाैँ – सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र० ले नेपाली सार्वभौमिकताको सम्मान गर्न भारतसँग आग्रह गरेको छ। नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले गरिरहेको सडक विस्तारको कार्य अविलम्ब रोक्न माग गर्दै माओवादीले ‘शक्तिको बलमा गरिएको भारतीय’ हस्तक्षेपप्रति निन्दा गरेको छ।

विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले शुक्रबार विज्ञप्ति निकालेर ‘भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग’ गरेका छन्।

साथै, माओवादीले नेपाल सरकारले सो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःख व्यक्त गरेको छ।

‘यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुखी छौं । नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रतिशीघ्र कूटनीतिक पहल गरोस्’ विज्ञप्तिमा भनिएको छ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा ग्रामीण सडक विस्तार कार्य जारी रहेको बताएका थिए। मोदीको सो भनाइपछि नेपाली भूमिमा सडक विस्तारका काम रोक्न माग गर्दै विभिन्न राजनीतिक दल तथा संग संगठनहरुले विरोध जनाए पनि सरकारले हालसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन।

प्रतिक्रिया