ससुराली आएर श्रीमतीको हत्या गर्ने भारतीय ज्वाइँ पक्राउ


कपिलवस्तु – नेपाल प्रहरीले सात वर्षअघि ससुरालीमा आएर श्रीमतीको हत्या गरेको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत घर भई कपिलवस्तु ससुराली भएका मुलायम चमारलाई मंगलबार नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । जिप्रकाका नायब उपरीक्षक धर्मराज भण्डारीको टोलीले पक्राउ गरेका चमारलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार मुलायम र मृतक उनकी श्रीमती किसलावती  ३० फागु्न २०७१ मा ससुराल श्रीनगर गाउँ आएका थिए । ससुरा सुखराम चमारले ससुराल आएका ज्वाईको आफुसक्दो मानमनितो गरे । राती दुबैका लागि ओच्छयान तयारी गरेर उनी आफु गोठमा सुत्न गएका थिए ।

सुखराम बिहान उठ्दा ज्वाई घरमा थिएनन् । छोरीको पनि अत्तोपत्तो थिएन ।  उनी छोरीज्वाई कहाँ र किन नभनी गए भनेर खोजीगर्दै थिए । कसैले फोन गरेर छोरी किसलावतीको शव घरदेखि ३ सय मिटर टाढा फेला परेको जानकारी दिए । किसलावतीको काटिएको खुट्टा घटनाको दुई दिनपछि कुकुरले लतारीरहेको अवस्थामा फेला परेको थियो ।

कपिलवस्तु प्रहरीका अनुसार मुलायमले राती नै श्रीमती किसलावतीलाई श्रीनगर गाउँको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा लगी कर्तव्य गरी मारी आगो समेत लगाई घटना पश्चात फरार भएका थिए । सुखरामले प्रहरीमा दिएको बयान अनुसार मुलायमले परस्त्रीसँग सम्बन्धका कारण श्रीमतीको हत्या गरेको खुलेको छ ।

मुलायम फरार भएपछि उनी सुखरामले उनी भारत शिदार्थनगर स्थित बडहरा गाउँमा आफ्नी बहिनीको घरमा लुकी बसेको थाह पाएर गएका थिए । तर उनी पुग्दा मुलायम फरार भईसकेका थिए ।

भारतमा सुरक्षा गार्डका रुपमा कार्यरत मुलायमका साथबाट प्रहरीले उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचय पत्र र मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रतिक्रिया