डिएसपी घरबिदा लिएर अमेरिका, ३५ दिनदेखि इन्स्पेक्टर निमित्त प्रमुख !


काठमाडौं – रसुवा छिमेकी राष्ट्र चीनसँग जोडिएको जिल्ला हो। रसुवा नाकामार्फत अवैध रक्तचन्दनदेखि सुनसम्मको कारोबार हुने गर्छ। त्यसैले सुरक्षाको दृष्टिकोणमा रसुवा संवेदनशील जिल्लामा पर्छ।

रसुवाको कमाण्ड नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी)ले गर्छ। तर, यस्तो संवेदनशील जिल्लाको कमाण्ड पछिल्लो एक महिनादेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले सम्हाल्दै आएका छन्।

रसुवा जिल्ला प्रहरी प्रमुख रहेका डिएसपी देवेन्द्र पाण्डे घर विदा लिएर अमेरिका घुम्न गएपछि इन्सपेक्टरले निमित्त प्रमुखको रुपमा जिम्मेवारी सम्हालेको एक महिना बढी पुगेको हो।

यतिबेला रसुवाको निमित्त प्रहरी प्रमुख छन् गणेश सापकोटा । २२ मंसिरमा डिएसपी पाण्डेले १० दिनको लागि भन्दै घरविदा लिएपछि सापकोटालाई निमित्तको जिम्मेवारी दिइएको थियो।

दश दिनको विदाले समेत नपुगेपछि डिएसपी पाण्डेले २० दिन विदा थपेका थिए। एक महिनाको घरविदा लिएका पाण्डे अहिलेसम्म हाजिर भएका छैनन्। उनले विदा लिएको नै ३५ दिन पुगेको छ।

डिएसपी पाण्डे घरविदा लिएर अमेरिका घुम्न गएको लामो समय हुँदा समेत प्रहरी प्रधान कार्यालय मौन बसेको छ। पाण्डे २१ पुस २०७७ मा रसुवा सरुवा भएका थिए। हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले नै पाण्डेलाई रसुवा पठाएका हुन्।

त्यसअघि डिएसपी पाण्डे सचिवालयका कार्यरत रहँदा आईजी क्षेत्रीसँगै गाडीमा हिँड्ने गर्थे। आईजीको खास मान्छे भएको कारण पाण्डेको एकवर्षे कार्यकाल पूरा भएपनि रसुवामै दरबन्दी थमौती भएको अनुमान छ।

डिएसपी पाण्डेको श्रीमती अमेरिकाको ग्रिनकार्ड होल्डर हुन्। त्यसैले बेला–बेला डिएसपी पाण्डे अमेरिका आउने–जाने गरिरहन्छन् ।

लामो समयदेखि इन्स्पेक्टरले निमित्तको जिम्मेवारी सम्हालेको देख्दादेख्दै प्रधान कार्यालयले अन्य कुनै डिएसपीलाई पठाउन नसक्नुको कारण आईजी क्षेत्रीको कमजोर कमाण्डिङ क्षमता हो।

यसरी लामो समयसम्म डिएसपी बस्ने ठाउँमा इन्स्पेक्टरले निमित्तको जिम्मेवारी सम्हाल्दा चेन अफ कमाण्डमा समस्या आउने सुरक्षाविज्ञहरुको भनाइ छ। ‘डिएसपीको कमाण्डमा रहँदा जिल्लामा थुप्रै इन्स्पेक्टरहरु हुन्छन्। त्यसैले एउटाले अर्कोलाई नटेर्ने अवस्था आउँछ,’ एक सुरक्षाविज्ञले भने।

आईजी क्षेत्रीको कार्यकालमा समयमा प्रहरी कर्मचारीहरुको सरुवा हुन सकिरहेको छैन। कारण शक्तिकेन्द्रको हस्तक्षेप। पछिल्लो समय बालुवाटार र गृहमन्त्रालयले नेपाल प्रहरीमा हस्तक्षेप गरिरहेको छ।

 

रसुवा जान ठूलो चलखेल

रसुवा जिल्ला जानको लागि डिएसपीहरु शक्तिकेन्द्र धाउनुपर्ने हुन्छ। रसुवामा नाका भएकाले तस्करीको लाइन मिलाउन ठूलो चलखेल हुन्छ।

त्यही कारण केही डिएसपीहरु पैसा बुझाएर जान पनि तयार हुन्छन्। केही तस्करहरु आफु अुनुकलका डिएसपी लैजान लबिङ गर्छन्।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रसुवा जानको लागि डिएसपी कुलदिप चन्दले लबिङ गरिरहेका छन्। उनले काँग्रेसी नेताहरुमार्फत रसुवाको इन्चार्ज जान खोजिरहेको स्रोत बताउँछ।

डिएसपी चन्दमात्र नभएर अन्य डिएसपीहरु पनि शक्तिकेन्द्र धाइरहेका छन्। रसुवासहित दोलखा, म्यादी, रामेछाप, ओखलढुंगा, रुकुम पूर्व, रुकुम पश्चिमलगायत जिल्लामा सरुवाका लागि डिएसपीहरुको दौडधुप छ। त्यस्तै, विभिन्न इप्रकाहरुमा पनि सरुवा हुन लागेको छ।

 

बद्नाम प्रहरीलाई इन्चार्ज

आइतबार प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गर्यो। जसमा बदनामहरु प्रहरी अधिकृतहरुले इन्चार्ज पाएका छन्।

कार्यक्षमतामा कमजोर विश्वमणि पोखरेललाई झापा जिल्लाको प्रमुख बनाएर पठाइएको छ। त्यस्तै बारामा दिलिपसिंह देउजा, पूर्वी नवलपरासीमा पठाइएका प्रज्वल महर्जन पनि कमजोर कार्यक्षमता भएका अधिकृत हुन्।

त्यस्तै कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ। एसपी सरुवामा बदनामहरुकै हालीमुहाली भएकाले आईजी क्षेत्रीको भूमिका फेरि पनि कमजोर देखिएको छ।

प्रतिक्रिया