संविधानविद् भीमार्जुन आचार्य पनि पृथ्वीनारायण शाहकै पक्षमा


कामठाडाैँ – विशेषतः गणतन्त्रवादीहरू पृथ्वी जयन्तीका विपक्षमा रहेका बेला संविधानविद् डा। भीमार्जुन आचार्य पनि राजा पृथ्वीनारायण शाहका पक्षमा देखिएका छन्। आज पुस २७ गते ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो। पहिला पहिला यो दिन सार्वजनिक बिदा दिने चलन थियो। तर गणतन्त्रवादी सरकारले यो बिदा दिन छाडेको छ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत डा. भीमार्जुन आचार्यले पृथ्वीनारायण शाहको उच्च प्रशंसा गरेका हुन्। ‘उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरूले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन,’ आचार्यले लेखेका छन्, ‘हरेक देशका साझा सम्पदा हुन्छन्। राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा हो। यो उपलक्ष्यमा म सबै नेपालीहरूबीचको सम्बन्ध सधैँ प्रगाढ रहोस् भन्ने कामना गर्दछु।’​

डा। आचार्यले पृथ्वीनारायण शाहलाई सम्झिने क्रममा गणतन्त्रवादीहरूको आलोचना पनि गरेका छन्। उनले माओवादी विद्रोहका बेला पृथ्वीनारायण शाहका पक्षमा बोल्न कठिन भएको पीडासमेत पोखेका छन्।

‘हिजो माओवादी द्वन्दकाल र ‘नयाँ नेपाल’को भूत सवारको समयमा पृथ्वीनारायणलाई सम्झन पनि कठिन थियो। तर हामी केहीले यो आवाजलाई मर्न दिएनौं’, आचार्यले अगाडि भनेका छन्, ‘आज यो संख्या ठूलो छ।यो खुसीको कुरा हो। पृथ्वीनारायणका दिव्योपदेश राज्य सञ्चालनको बडापत्र हुन। तिनको अनुशरण गरिनुपर्छ।’

प्रतिक्रिया