

भक्तपुरमा मास्कबिना घरबाहिर ननिस्कन प्रशासनको निर्देशन

भक्तपुर – भक्तपुर जिल्लाभर मास्क नलगाइ हिँडडुल गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड संक्रमण रोकथामको लागि आज (सोमबार) देखि लागू हुने गरी अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्णय गरेको हो ।
‘मास्क नलगाउनेहरुको भीड बढ्न थालिसकेको छ,’ भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘हामीले हिजो विपद् व्यवस्थापन समितिको बैठक राखेका थियौँ सोही बैठकले मास्क लगाउन, स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ गर्ने निर्णय गरेको हो ।’
प्रजिअ शर्माले स्थानीय तहहरुलाई पनि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेको बताइन् । जिल्लाभित्र खोप अभियानलाई पनि तीव्रता दिने निर्णय गरेको शर्माको भनाइ छ ।

