एमाले अध्यक्ष ओली संखुवासभामा


संखुवासभा — नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुगेका छन् ।

पूर्वप्रधानमन्त्री ओली सोमबार हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुगेका हुन् ।

जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले यो देशमा परिवर्तन चाहने वामपन्थी पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् ।

उक्त अवसरमा ओलीले एमाले बाहेकका दल वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा समर्पित भएको आरोप लगाएका हुन् । ‘यो देशमा परिवर्तन चाहने राजनीतिक दल भनेको एमाले हो । यति बुभिसकेपछि बामपन्थी खोल ओडेका पार्टीका साथीहरु अलमल नगर्नुहोस्,’ ओलीले भने, ‘एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती, प्रगति चाहाने, समामाजिक न्याय र समानता दिने पार्टी हो । बामपन्थी खोल ओडेर प्रक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने हुन् ।’

उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु छन् । उनीहरुलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपाने, सङ्खुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतले स्वागत गरेका थिए ।

खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया