हेल्प डेस्क राख्न सप्तरीका स्थानीय तहमा अटेर


सप्तरी – भारतमा कोरोनाभाइरस बढिरहेको बेला स्वास्थ्य हेल्प डेस्क राख्न सप्तरीका स्थानीय तहले अटेर गरेका छन् ।

भारतीय नाकाबाट नेपाल छिरेकाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेका बेला स्थानीय तहले हेल्प डेस्क राख्न अटेर गरेका हुन् ।

हेल्प डेस्क स्थापना गर्न निर्देशन दिए पनि स्थानीय तहले अटेर गरेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

तिलाठी कोइलाडी नाकामा एन्टिजेन परीक्षण भइरहे पनि अन्य नाकामा हेल्प डेस्क राख्न पालिकाहरूलाई आग्रह गरे पनि त्यसो हुन नसकेको उनको भनाइ छ । ‘पालिकाहरू यस्तो बेला सक्रिय हुनुपर्ने आवश्यक देखिए पनि तर ध्यान दिएको देखिँदैन,’ प्रजिअ गौतमले भने ।

यस विषयमा छलफल गर्न बिहीबार सर्वपक्षीय बैठक बोलाएको उनको भनाइ छ । सुरक्षा निकाय सक्रिय भएर सीमामा निगरानी गरिरहेको गौतमले जानकारी दिए ।

भारतमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि नेपाल फर्किनेको संख्या पनि बढिरहेका बेला सीमा जोडिएकासहितका स्थानीय तहले हेल्प डेस्क स्थापना गरेर कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्न नसकेका हुन् ।

तिलाठी कोईलाडी, न्योर, अन्द्रामण्ठसहितका नाकाहरूबाट मानिसहरु भित्ररहेको राजगढ गाउँपालिकाका श्यामप्रित मण्डलले बताए ।

‘मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने स्वास्थ्य मापदण्डसमेत अपनाएको पाइँदैन । यस्तै अवस्था रह्यो भने भारत जस्तै नेपालमा पनि कोरोना संक्रमण बढ्नेछ,’ उनी भन्छन् ।

 

प्रतिक्रिया