

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीको थुनछेक बहस आज

काठमाडौं – साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस आज हुँदैछ।
सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षीय रमेश हिजो ढिलोगरी मात्रै जिल्ला अदालत मोरङमा हाजिर भएका थिए। उप्रेतीको आज मात्रै थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए।
युएई बस्दै आएका उप्रेती मंगलबार नेपाल आउँदा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले उनलाई बुधबार दिउँसो विराटनगर पुर्याएको थियो। गत २७ मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए। थुनछेक बहसपछि उनी ३ लाख धरौटी बुझाएर छुटेका थिए।
२२ मंसिरमा न्यायाधीश भरत लम्सालको इजलासले तस्करीको सुनको लगानीकर्ता मध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते ५६ जना प्रतिवादीले सफाइ दिएको थियो। सो मुद्दामा ८ जनालाई भने दोषी ठहर गरिएको थियो ।

