दाङका ‘डन’ विकासविरुद्ध ५० लाखको ठगी मुद्दा, पक्राउ पुर्जी जारी गरी खोजीमा जुट्यो प्रहरी


दाङ – दाङको घोराहीका ‘डन’ विकास पुनविरुद्ध ठगी गरेको आरोपमा उजुरी परेको छ । खोलाको  काममा पार्टनर बनाउने ठगी गरेको भन्दै पीडितपक्षले पुनविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका छन् । पुनविरुद्ध कपिलवस्तुका तिलक थापाले ५० लाख रुपैया ठगेर भागेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले पुनविरुद्ध जाहेरी प्रहरीमा आएको बताए । उनले जाहेरी दर्ताको प्रकृयामा रहेको र पुनविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी दिए । प्रहरीमा जाहेरी दिएका थापाले पुनले धेरैलाई ठगी गरेको र अरु पनि सम्पर्कमा आइरहेको बताएका छन् । पुन यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए ।

कुमार घैँटेको इन्काउन्टरपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय थिए । २०७३ सालमा उनी ज्यान मार्ने उद्योगमा पक्राउ पनि परेका थिए । पुनविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

त्यही मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो। त्यसपछि पुन सर्वोच्चमा अपिल गर्न पुगेका हुन्।

‘पुनका पुराना मुद्दा छन् भन्ने कुरा आएको छ, त्यसमा पनि अनुसन्धान हुन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘ पुनविरुद्ध जाहेरी परेपछि हामी सबै घटनाको अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्रै  विस्तृतमा भन्न सकिन्छ।’

पुनको विगतमा छवि राम्रो नरहेको तथा गुण्डा नाइकेको पहिचान बनाएको उनले बताए।

पछिल्लो समय उनले जिल्लाको देउखुरी क्षेत्रको राप्ती नदीबाट बालुवा गिट्टी निकासीको काम गर्दै आएको स्रोतले बताएको छ। घोराहीलाई आधारक्षेत्र बनाएर पुनले गुण्डागर्दी, चन्दा असुली र मिटर ब्याजमा लगाएका पैसा असुल्ने गर्दै आएको पनि आरोप छ । एसपी काफ्ले गुण्डागर्दीविरुद्ध खरोरुपमा उत्रिएपछि अहिले पुन भागेर काठमाडौं बस्दै आएको पनि स्रोतले जनाएको छ ।

यसअघि तत्कालिन दाङका एसपी हालका सिआईबिका डिआईजी धिरजप्रताप सिंहले दाङको गुण्डागर्दी, चन्दा आतंक पुरै ध्वस्त पारेका थिए । दाङ सरुवा भएर आउने जुनसुकै तत्कालिन एसपी सिंहकै कार्यशैली पछ्याउदै आउने गरेका छन् । तत्कालिन एसपी गणेश चन्दको पालामा दाङमा ढुङ्गा, गिट्टि, बालुवा तस्करि, गुण्डागर्दिले प्रश्रय पाएको थियो ।

प्रतिक्रिया