शेखरको गृहजिल्ला पुगेर विश्वप्रकाशले भने, ‘देउवा सरकार सफल छ’
File Photo
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल भएको बताएका छन्। नेपाली कांग्रेस मोरङ पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘सरकार सफल छ, देउवाले सभापति जितेपछि थप ऊर्जा मिलेको छ।’
महाधिवेशन पछाडि सभापति समेत रहेका देउवालाई सरकारको काम गर्न थप ऊर्जा मिलेको बताउँदै शर्माले अहिलेको सरकारलाई कोरोनाको खोपमा सफलता मिलेको बताए।
महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेदवार दिएका नेता डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा पुगेर शर्माले देउवाको प्रशंसा गर्दै अहिलेको सरकारको २ वटा लक्ष्य रहेको बताए।
एउटा खोप र अर्को चुनाव रहेकाले २ वटैमा कांग्रेस सफल हुँदै गएको शर्माले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीजस्तो कांग्रेस नभएकाले हारजीतको कुरा गर्न नहुने उनले बताए ।
शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए।