

घाइतेको मृत्यु भएपछि फरार रहेका मन्त्री सोडारीका छोरा पक्राउ

धनगढी – सवारी ज्यान मुद्दामा फरार मन्त्रीका छोरा पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत पुस २ गते उनले चलाएको सवारीको ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपानेको ११ गते निधन भएपछि सोडारी फरार रहेका थिए ।
प्रहरीका अनुसार २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री न्यौपाने घाइते भएपछि उपचारका क्रममा ११ गते मृत्यु भएको थियो । त्यसपछि सोडारी फरार रहेकोमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन भएका थिए ।

