राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया सुरु


दाङ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया प्रारम्भ भएको छ । निर्वाचनका लागि बिहीबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

पहिलो निर्वाचनबाट चार वर्षे कार्यकाल पूरा गरेका सांसदहरूको पद रिक्त हुने भएकाले ती रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।

लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाले लुम्बिनी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको जानकारी दिए । यो प्रदेशमा एक महिला, एक दलित र एक अन्य गरी तीनजनाका लागि निर्वाचन हुने भएको छ ।

लुम्बिनीमा ८१ प्रदेशसभा सदस्य र २१५ स्थानीय तह सदस्य गरी कुल २९६ मतदाता रहेका छन् । यसैगरी प्रदेश १ मा पनि ३ जनाका लागि निर्वाचन हुने छ । यो प्रदेशमा एक महिला, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र एकजना अन्य गरी ३ सिटका लागि निर्वाचन हुने छ । प्रदेश नम्बर १ मा ९२ प्रदेशसभा सदस्य र २७२ स्थानीय तह सदस्य गरी कुल ३६४ मतदाता रहेको निर्वााच आयोगले जनाएको छ ।

प्रदेश नम्बर २ मा एक महिला र एक अन्य गरी २ जनाका लागि निर्वाचन हुने छ । यो प्रदेशमा १०४ प्रदेशसभा सदस्य र २६८ स्थानीय तह सदस्य गरी कुल ३७२ मतदाता रहेका छन् ।

वाग्मतीमा १ महिला र १ अन्य गरी २ सिटका लागि निर्वाचन हुने छ । यो प्रदेशमा १०९ प्रदेशसभा सदस्य र २३७ स्थानीय तह सदस्य गरी कुल ३४६ मतदाता रहेका छन् । गण्डकीमा एक महिला, एक अन्य र एक दलित गरी ३ सिटका लागि निर्वाचन हुने छ । यो प्रदेशमा ५९ प्रदेशसभा सदस्य र १७० स्थानीय तह सदस्य गरी कुल २२९ मतदाता रहेका छन् ।

कर्णालीमा एक महिला, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र एकजना अन्य गरी ३ सिटका लागि निर्वाचन हुने छ । यो प्रदेशमा ३५ प्रदेशसभा सदस्य र १५६ स्थानीय तह सदस्य गरी कुल १९१ जना मतदाता छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा एक महिला, एक दलित र एक अन्य गरी ३ सिटका लागि निर्वाचन हुने छ ।

यो प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ स्थानीय तह सदस्य गरी २२७ मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्न पाउँछन् ।

भोलि (पुस १७ गते) मतदाता नामावली प्रकाशन, १९ गते अन्तिम नामावली प्रकाशन हुने र २० गते उमेदवारी मनोनयन दर्ता हुने निर्वाचन कार्यतालिका रहेको छ ।

प्रतिक्रिया