मेराे एजेन्डा देउवाले पूरा गर्छु भनेपछि समर्थन गरेको हुँ : प्रकाशमान सिंह


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफूले सारेका एजेन्डा स्थापित हुने दाबी गरेका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पार्टी रूपान्तरणका लागि आफुले अघि सारेका एजेन्डा स्थापित हुने बताएका हुन् ।

कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो एजेन्डा पूरा गर्ने प्रतिबद्धता जनाएकाले आफूले समर्थन गरेको भन्दै उनले यस विषयमा आएका आलोचनालाई आफूले सहज रूपमा स्वीकार गर्ने बताए ।

उनले सभापति देउवासँग पार्टी हितविपरीतको कुनै सम्झौता नगरेको स्पष्ट पारे । उनले महाधिवेशनअघि आफूलाई सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति हुन नसकेकै कारण निर्वाचनमा आफूमाथि घात भएको बताए ।

त्यस्तै कार्यक्रमका सहभागीहरूले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया