अफताबको मुद्दामा आज पनि सुनुवाई भएन, तेस्रो नम्बरको मुद्दा ‘हेर्न नभ्याईने’मा!


काठमाडौं – पटक-पटक पेसीमा चढेर सुनुवाई हुन नसकेको पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा आज (शुक्रबार) पनि हेर्न नभ्याईनेमा परेको छ । सर्वोच्च अदालतमा शुक्रबारका लागि पेसी तोकिएको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो ।

आलमलाई थुनामुक्त गराउन माग गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा पटकपटक सुनुवाई रोकिँदै आएकोमा आजको पनि रोकिएको छ । उनको मुद्दाको पालो अघि २ रिटको सुनुवाइ रहेकाले न्यायाधीशद्वयको इजलाशमा परेका २५ मुद्दामध्ये २२ हेर्न नभ्याइनेमा र ३ मुद्दा स्थगित भएको छ ।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्।

प्रतिक्रिया