

नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवमा ओझा

काठमाडौं – नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवको जिम्मेवारी उपमहासचिव भीष्मराज ओझाले सम्हालेका छन् । युनियनको मङ्गलबार बसेको केन्द्रीय सचिवालयकोे बैठकले तत्कालीन महासचिव अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदको जिम्मेवारी उपमहासचिव ओझालाई सुम्पिएको हो ।
कांग्रेसको विधानअनुसार पार्टीको पदाधिकारी एवं सदस्यमा निर्वाचित भएपछि अर्को पद स्वतः खारेज हुने व्यवस्था छ । बैठकले शिवाकोटीलाई हालसम्म महासचिव पदमा रहेर गरेको योगदानका लागि धन्यवाद दिँदै उनीलाई बधाई तथा शुभकामना प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
बैठकपछि युनियनको कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शिवाकोटीले उपमहासचिव ओझालाई माइन्यूटसमेत हस्तान्तरण गरे । दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा रहेका उनी हाल राष्ट्रिय समचार समिति (रासस)को वरिष्ठ समाचारदाताका रूपमा कार्यरत छन्। पत्रकारितामा स्नातकोत्तर गरेका ओझासँग तीन कार्यकालदेखि प्रेस युनियनको पदाधिकारीमा रहेर काम गरेको अनुभव छ ।

