

ठाकुरविरुद्ध कार्यकर्ताद्वारा केन्द्रीय पार्टी कार्यालयमा धर्ना

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी रुपमा प्रदेश र जिल्लामा पदाधिकारी चयन गरेको भन्दै धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
सोमबार लोसपाको केन्द्रीय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूले शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरका अनुसार अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णय सच्याउनुपर्ने माग राखिएको छ ।
पार्टीमा एक व्यक्ति एक पदको व्यवस्था लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने पनि उनीहरूको माग छ । अध्यक्ष ठाकुरले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक भएकाले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा कार्यकर्ताहरूले जोड दिएका छन् ।

