कृष्ण यादव प्रदेश २ मा सभापतिको उम्मेदवार


काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षले रौतहटका यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

देउवा पक्षका नेता बालकृष्ण खाण, नवनिर्वाचित सह–महामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजालसहितका नेताको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस्तै विमलेन्द्र निधि र शेखर कोइराला समूहले संयुक्त प्यानल बनाएर प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री रामसरोज यादवलाई सभापतिमा अगाडि सार्ने तयारी छ। उनी निधि निकट हुन्।

निधि समूहसँग सहकार्यका लागि १ नम्बर प्रदेशका सभापतिका प्रत्यासी गुरुराज घिमिरेको संयोजकत्वमा नेताहरु भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरी प्रदेश २ निर्वाचनका लागि जनकपुरमा छन्।

प्रदेश महाधिवेशन अन्तर्गत जनकपुरमा मंगलबार मतदाताको नामावली, उम्मेदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम छ।

प्रदेश अधिवेशनबाट सभापतिसहित उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्यहरू चयन हुनेछन्।

प्रतिक्रिया