भ्रष्टाचार स्थानीय समस्या मात्र नभई अन्तर्राष्ट्रिय पनि समस्या होः प्रमुख आयुक्त राई


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार स्थानीय समस्या मात्र नभई एक अन्तर्राष्ट्रिय समस्या रहेको टिप्पणी गरेका छन्।

इजिप्टको शाम एल सेइख शहरमा सञ्चालन भइरहेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनमा नेपालको तर्फबाट सम्बोधन गर्दै राईले यस्तो टिप्पणी गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्तले भ्रष्टाचारले समाजको स्थायित्व र सुरक्षामा निम्त्याउने चुनौती र खतराप्रति नेपाल चिन्तित रहेको समेत बताए । भ्रष्टाचारले दिगो विकास र विधिको शासनलाई पनि खतरामा पार्ने कुरा ‍औँल्याउँदै उनले भ्रष्टाचार सबै देशको शत्रु रहेको तर विकासोन्मुख देशका लागि यो अझ बढी घातक भएको उल्लेख गरे।

भ्रष्टाचारले असमानता र अन्यायलाई स्थान दिई विकासोन्मुख राष्ट्रले प्राप्त गर्ने वैदेशिक सहायता र लगानीलाई निरुत्साहित गर्दै गरिबी न्यूनीकरण र विकासमा समेत ठूलो असर पुर्‍याएको प्रमुख आयुक्त राईको भनाइ छ।

यस्तै, कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार अब स्थानीय समस्या मात्र नभई एक अन्तर्राष्ट्रिय समस्या रहेको र यसले समाज र अर्थतन्त्रमा प्रतिकूल असर पारेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिवद्धता, समन्वय र सहयोग आवश्यक रहेको कुरा बताए।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कानुनी रूपमा बाध्यकारी भ्रष्टाचार विरोधी औजार विकासका लागि एक अद्वितीय उपकरण रहेको उनले उल्लेख गरे। यसै तथ्यलाई मनन गरी नेपालले २३ फेब्रुअरी २०११ मा महासन्धिलाई अनुमोदन गरेको तथा महासन्धिको पक्ष राष्ट्र भएपश्चात नेपालमा भ्रष्टाचार नियन्त्रणको विषयलाई संवैधानिक, संसदीय, न्यायिक, संस्थागत र प्रशासनिक प्रणालीबाट सम्बोधनको प्रयास भइरहेको समेत बताए ।

नेपालले सन् २०१२ मा UNCAC को कार्यान्वयनका लागि राष्ट्रिय रणनीति र कार्ययोजना अपनाएको बताउँदै उनले संवैधानिक निर्देशनहरू र UNCAC कार्यान्वयन रणनीति र कार्य योजनाको आधारमा महासन्धिसँग सामञ्जस्य कायम हुने गरी करिब दुई दर्जनभन्दा बढी ऐन कानुनहरू निर्माण तथा परिमार्जन गरिएको बताए ।

त्यसैगरी, निजी क्षेत्रमा हुने स्वार्थको द्वन्द्व तथा भ्रष्टाचारजन्य गतिविधिलाई नियन्त्रण गर्ने सम्बन्धी दुई महत्वपूर्ण विधेयकहरू नेपालको संघीय संसदमा विचाराधीन रहेको बताउँदै उनले नेपालले सम्पत्ति शुद्धीकरणविरुद्धको अनुसन्धान रणनीति तथा कार्ययोजना (२०१९-२०२४) कार्यान्वयन गर्दै आएको कुरासमेत सम्मेलनमा जानकारी गराए।

इजिष्टमा सञ्चालन भइरहेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको नवौँ सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलमा अख्तियारका सचिव तोयम राया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धनराज ज्ञवाली तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव कोशल चन्द्र सुवेदी समेतको उपस्थिति रहेको छ।

प्रतिक्रिया