चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको देखिँदैनः डब्लूएचओ


काठमाडौं – अमेरिकी अधिकारीहरुले कोरोना भाइरस कोभिड–१९ चीनको प्रयोगशालाबाट फैलिएको आशंका व्यक्त गर्दै आएका छन् । तर हालै कोरोनाको उद्गमस्थल चीनको हुपेइ प्रान्तको वुहान शहर पुगेका डब्लूएचओका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना प्रयोगशालाबाट फैलिएको देखिँदैन ।

डब्लूएचओको टोलीको नेतृत्व गर्दै चीन पुगेका डाक्टर पिटर बेन इमबारेकका अनुसार कोरोना वुहानको प्रयोगशालाबाट फैलिएको देखिँदैन, त्यसको सम्भावना अत्यन्तै कम छ । उनले कोरोनाको स्रोत पत्ता लगाउन अझ बृहत अनुसन्धान गरिनुपर्ने बताए । अब वैज्ञानिक अनुसन्धान दक्षिणपूर्वी एसियामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

डाक्टर पिटर बेन इमबारेक

वैज्ञानिकहरुले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन्। यसअघि वैज्ञानिकले सालक, चमेरा जस्ता जीवको शरीरमा कोरोना देखेपछि यस्तै जीवबाट कोरोना फैलिएको हुनसक्ने बताएका थिए । कोरोनाको पहिलो संक्रमित वुहानमा देखिएपनि वुहानमै कोरोना उत्पत्ति नभएको चिनियाँ वैज्ञानिकहरु बताउँछन् ।

चीनको स्वास्थ्य आयोगकका वैज्ञानिक लियाङ वाननियानका अनुसार वुहानभन्दा पहिल्यै अन्य क्षेत्रमा कोरोनाको उत्पत्ति भएको हुनसक्छ । फ्रोजन खानामार्फत कोरोना फैलिएको पनि आशंका गरिएको छ । वुहानको माछा बजारदेखि कोरोना व्यापक रुपमा फैलिएको थियो । अमेरिकी अधिकारीहरुले चीनले कोरोना भाइरस प्रयोगशालामा बनाएको तथा प्रयोगशालाबाट यस भाइरस विश्वभर फैलिएको आरोप लगाउँदै आएका थिए ।

यसबीचमा डब्लूएचओले प्रयोगशालाबाट कोरोना फैलिएको नदेखिएको बताएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोनाको जानकारी लुकाएका कारण यो विश्वव्यापी बनेको आरोप लगाएका थिए । तर चीनले आफूले कोरोनाको खतराबारे सुरुवातमै जानकारी दिएको बताउँदै आएको छ । बीबीसी

प्रतिक्रिया