सिंहपछि निधिको पनि समर्थन देउवालाई


काठमाडौं – नेपाली काँग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन्।

मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा निधिले सहयोग गर्ने बचन दिएका छन्।

यसअघि नेपाली कांग्रेसको सभापतिका प्रत्यासी प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणमा मतदान हुँदैछ।

मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन्। सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२३, सिंहले ३६०, निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए।

अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया