कांग्रेस महाधिवेशनः के भन्छन् केन्द्रीय सदस्यका दर्जन उम्मेदवार ?


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका प्रत्याशीहरुसँग रिपोर्टर्स क्लब नेपालले विशेष साक्षात्कार गरेको छ । क्लबले उनीहरुलाई ‘तपाईको उम्मेद्धवारी किन ? र तपाईसँग के एजेण्डा छन् ?’ भनेर प्रश्नसमेत सोधेको छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएका पूर्वमन्त्री तथा सांसद सञ्जय गौतमले पार्टीले दिएको सबै काम आजको दिनसम्म जिम्मेवारपुर्वक आफुले सम्पन्न गरेको बताए । उनले कांग्रेस अहिले संस्थागत रुपमा अघि बढ्न नसकेको स्विकार गर्दै भने,‘कांग्रेस अहिले संस्थागत् रुपमा अघि बढ्न सकेको छैन्, अब पार्टीलाई सशक्त रुपमा अगाडि बढाउनसक्ने नेतृत्व आउनेमा हामी आशावादी छौ ।’

उनले पार्टीलाई अझ सशक्त रुपमा अगाडि बढाउन आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन चाहेको बताए । पौडेल पक्षका सबै उम्मेदवार पार्टी हाँक्न योग्य भएको भन्दै जुन पनि उम्मेद्धवारले अबको कांग्रेसलाई हाँक्ने उनले जिकिर गरे ।

कार्यक्रममा बोल्दै प्रभावशाली युवा नेता तथा पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले १३औं महाधिवेशनमा पनि खुल्ला तर्फमा आफूले  उम्मेदारी दिएको र त्यतिबेला सफल हुन नसकेको बताए । उनले अर्थराज्य मन्त्री बाट निस्किसकेपछि आजसम्म कुनै पनि पद नलिएको स्पष्ट पारे ।

उनले भने, ‘नेतृत्वकहाँ केन्द्रीय सदस्य चाहियो बनाइदिनु पर्यो भनेर म कहिल्यै पनि गइन् । म मागेर खाने र चल्ने मानिस होइन् । मभन्दा कम मत ल्याउने साथीहरु आज केन्द्रीय सदस्य भएका छन् ।’ साथीहरुको आर्शिवादले मात्र आफु केन्द्रीय सदस्य बन्न चाहेको पनि उनले स्पष्ट पारे । उनले शेरबहादुर देउवालाई समर्थन गर्दै उनको लागि मतसमेत माग्न चाहेको बताए ।

राणाले कांग्रेस संस्थापन पक्ष र प्रजातान्त्रिक कांग्रेस हुँदापनि दुवै पक्षको आफु एकल तरुण दलको केन्द्रीय अध्यक्ष भएको स्मरण गराए । तरुण दलमा आफ्नो पालामा ७५ जिल्लामा पनि कुनै विवाद नभएको उनले स्पष्ट पारे । ९ महिना अर्थराज्य मन्त्री हुँदापनि सम्पुर्ण कार्य जिम्मेवारी पूर्ण गरेको उनले उल्लेख गरे ।

त्यस्तै, केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएका रामहरी खतिवडाले नेपाली कांग्रेसले जनताको इच्छा र आकांक्षा पुरा गर्न नसकेको स्विकार गरे । विभिन्न कारणले ढिलो भएपनि भोलिदेखि महाधिवेशन सुरु हुन लागेकोमा खुशी व्यक्त गर्दै महाधिवेशनमा उत्साहपूर्वक सहभागी जनाउन आम नेता तथा कार्यकर्ताहरुलाई उनले अपिल गरे ।

खतिवडाले विदेशबाट महाधिवेशनको लागि पाहुनाहरु आउनेक्रम जारी रहेको भन्दै अबको महाधिवेशनले कांग्रेसलाई एकतावद्ध गर्नेसमेत जिकिर गरे । अब कांग्रेसमा फुटको नभई जुटको राजनीति गर्न सबैलाई उनले आग्रह गरे ।

नेता खतिवडाले २०४८ सालदेखि आफू निरन्तर राजनीतिमा होमिएको जानकारी दिँदै खस–आर्यबाट आफुले केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी दिएको बताए । उनले सभापति शेरबहादुर देउवा अब तुरुन्तै चुनावमा जानपर्ने भएकोले सभापतिमा उठेर पराजित भएर जाँदा फाइदा हुन्छ की जितेर जाँदा पार्टीलाई फाइदा हुन्छ ? त्यसमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

उनले भने,‘हिजोका पुराना पुस्ताले स्याबास राम्रो काम गरेको भन्दै सम्मान गरुन् । आगामी दिनमा पनि हारेको सभापतिलाई चुनावमा लिएर जाँदा पार्टीलाई कत्ति फाइदा हुन्छ त्यसको बारेमा एकपटक सबैले सोच्नुपर्छ ।’

केन्द्रीय सदस्यका अर्का प्रत्याशी मधु आचार्यले राष्ट्रवादी नीति समाजवादी नेता रुपान्तरण सहितको कांग्रेस मेरो प्रतिवद्धता भन्दै आफ्नो भावना व्यक्त गरे ।  उनले महाधिवेशनको निर्वाचनपछि अर्कोे आम जनताको विचमा हुने निर्वाचनलाई मध्येनजर गर्दै नेतृत्व चयन गर्दा ध्यान दिनपर्ने बताए । उनले आफुले विपी विचार यात्रामार्फत विपीको विचार देशभरका जनतामा पुर्याएको उनले स्मरण गराए । पार्टी नेतृत्वले श्रृजनात्मक ढंगले अभियान चलाउनुपर्नेमा गर्न नसकेको आरोप लगाए ।

पार्टीमा वैचारिक बहस चलाउन र जनताको आवाज बुलन्द गर्नको लागि आफुले उम्मेदवारी दिएको बताए । उनले भने–‘कांग्रेसमा अहिले विचारको बसहमा सुस्तता आएको छ । विभिन्न पोलिसीमा छलफल हुनुपर्दथ्यो तर भएन ।’

नेता आचार्यले अब आर्थिक र सांगठनिक एजेन्डा के हुन्छन् ? भनेर ती सबै विषयमा छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको गुनासो पोखे । अहिले त नेतृत्वको लागि मात्र छलफल भएकोमा उनले दुःख व्यक्त गरे । शैक्षिक ज्ञान भएका र उच्च विचार भएका भाईबहिनीहरुलाई मौका दिनुपर्छ भन्ने आफ्नो मुद्दा भएको पनि बताए ।

नेतृत्वको लागि सहमति हुनेमा ढुक्क हुँदै सहमतिको अगुवाई शेरबहादुर देउवाले गर्नेमा आफु विश्वस्त भएको बताए । पार्टीभित्र एकता कायम गरी आगामी चुनावमा अगाडी बढाउने परिपक्क नेता रामचन्द्र पौडेल भएको भन्दै उनले अबको सभापति पौडेल हुने पनि जिकिर गरे ।

केन्द्रीय सदस्यका अर्का प्रत्यासी युवा नेता रमेश धमलाले विदेशबाट महाधिवेशन सम्पन्न गर्नको लागि सम्र्पक समितिका प्रतिनिधिहरु काठमाडौं आइसकेको जनाए । अबको नेतृत्व जिम्मेवार र उत्तरदायित्व वहन गर्नसक्ने हुनुपर्ने उनको भनाई थियो । पार्टीको दस्तावेज राम्रोसँग लागु हुन नसक्नु दुःखद् हो भन्दै उनले कांग्रेसमा कुनैपनि नीति लागु नै नगरी खारेज हुने गरेको समेत गुनासो पोखे ।

केन्द्रीय समितिमा हुनेहरु विधि र नीतिमा नचलेको उनको आरोप थियो । पार्टीमा ‘एक व्यक्ति, एक पद’  मात्र हुनुपर्छ भन्ने कुरा जोडदार माग गरेपनि केन्द्रीय समितिले आफुहरुको जायज माग लत्याइदिएको नेता धमलाले गुनासो पोखे ।  उनले भने,‘आज हाम्रोसामू त्यो नेतृत्वलाई फाल्नुपर्ने दिन आएको छ ।’

नेपाली कांग्रेस कमजोर हुनु भनेको राष्ट्रनै कमजोर हुने भएको समेत बताउँदै उनले भने,‘लामो समयसम्म काम गरिसकेको, युवाहरुलाई पनि समेट्नेगरि सक्षम नेतृत्व चयन गर्नपर्छ ।’ उनले जनताको बीचमा जे भनेका छौं, त्यो पूरा गर्नको लागि आफ्नो उम्मेदवारी भएको बताए । वर्तमान सभापति देउवाले पार्टी राम्रोसँग चलाउन नसकेको भन्दै उनले अबको सभापति वा नेतृत्वमा बरिष्ठ नेता  रामचन्द्र पौडेललाई देख्न चाहेको पनि सुनाए ।

केन्द्रीय सदस्यका अर्का प्रत्याशी मानबहादुर रावतले आफूलाई अमुल्य मत दिएर आफुलाई केन्द्रीय सदस्यमा जिताउन आग्रह गरे । उनले भने, ‘१४औं महाधिवेशनले नयाँ इतिहास कोर्नेवाला छ हामी तयारी अवस्थामा छौ ।’ कम्युनिष्ट सरकारले संविधान बचाउनुको सट्टा संविधानलाई नै सकाउने खेलमा लागेको उनको भनाई थियो ।

राष्ट्रियताको सवालमा बहुत गम्भिर अवस्थामा देश रहेको भन्दै उनले सुझबुझको साथ अधिवेशन सम्पन्न गर्न पर्ने धारणा राखे । सुझबुझसहितको नेतृत्व चयन गरेर तमाम कार्यकर्तालाई समेट्ने वातावरण बन्न सक्ने उनले बताए । कांग्रेस युवाको पार्टीको हो भन्ने आभास गराउने अनुभवी नेताले नेतृत्व गर्न पर्ने उनले बताए । पार्टीलाई गतिशिल बनाउन सक्ने, आशा र भरोसाको केन्द्र बनाउने, आम कार्यकर्ताहरुलाई समेट्ने गरी उनीहरुको व्यवस्थापनको लागि वातावरण बनाउन, आगामी निर्वाचनहरुमा एक नम्बरको पार्टी पुर्याउनको लागि आफ्नो उममेदवारी रहेको बताए ।

अहिले राष्ट्र बचाउन कांग्रेसलाई नेतृत्व गर्न अवसर मिलेको उनको भनाई थियो । उनले देउवा नै अबको सभापतिको उपयुक्त पात्र भएको बताए ।

नेपाली कांग्रेसका युवा नेता डिबी सुनारले आफूले यसपटकको महाधिवेशनमा दलित आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा । युवा नेता सुनारले विदेश विभागमा रहेर आफूले काम गरिसकेको अनुभव पनि सनुाए । उनले २७ देशमा भ्रमण गरेर विद्यार्थी र दलितहरुको आवाज पुर्याएको पनि जनाए ।

उनले दलितहरुको आवाजलाई बुलन्द गर्न आफ्नो उम्मेदवारी दिने बताए । इतिहासमै नभएको काम शेरबहादुर देउवा सभापति भएको पालामा पहिलोपटक विदेश नीति विभाग गठन गरेको उनले समेत जिकिर गरे । उनी सामाजिक–आर्थिक मुद्दा उठान गर्न सभापतिको लागि देउवालाई मत दिनुपर्ने उनको भनाई थियो । उनले भने,‘अबको कांग्रेसको नेतृत्वमा देउवालाई नै अगाडी बढाउनु पर्छ । उहाँ पार्टीलाई हाक्ने सक्षम व्यक्ति हो ।’

त्यस्तै, केन्द्रीय सदस्यका अर्का उम्मेदवार नबराज गुरुङले शेरबहादुर देउवाको पालामा आफु नेपाली कांग्रेसको प्रजातान्त्रिकको तर्फबाट पर्वत जिल्ला सभापति भएको बताए । आदिवासी, जनजाति, महिला, दलितहरु सारालाई सिंगो नेपाललाई एकरुपता दिने भनेको देउवा भएको उनको भनाई थियो ।

जनताको पक्षमा काम गर्ने नेताहरु गोपालमान श्रेष्ठ, बिमलेन्द्र नीधि र देउवा एक भएर चुनावमा जान पर्नेमा उनले सल्लाह दिएको बताए । उनले कांग्रेस रहेन भने यो देश पनि नरहने जिकिर गरे । निधि नआए पनि देउवा र गोपालमान श्रेष्ठको प्यानल सँगै बढ्नुपर्ने उनको भनाई थियो ।

केन्द्रीय सदस्य पदका प्रत्यासी पत्रकार अजयबाबु सिवाकोटीले दुई दशकको पत्रकारिताको इतिहासमा आफू धेरैपटक परिवर्तन र आन्दोलनको पक्षमा सडकमा उत्रिएको स्मरण गराए । उनले तत्कालिन सभामुख कृष्णबहादुर महराको प्रकरणमा आफुले पत्रकारिताको धर्म निर्वाह गरेको समेत स्मरण गराए । देशका दुरदराजका विभिन्न स्थानमा पुग्दा नेपाली कांग्रेसको नाममा दियो बालेर बसेको देखेपछि आफुलाई कांग्रेसप्रति थप आकर्षण बढेको पनि उनले सुनाए । कांग्रेसप्रति त्याग र तपस्या गरेर बसेका व्यक्तिहरुले नै आफुलाई महाधिवेशन प्रतिनिधिमा भोट दिएर जिताएर पठाएको पनि शिवाकोटीले सुनाए

आफ्नो गृहजिल्ला दोलखा पुग्दा क्रियासिल सदस्यहरु, युवा पँक्तिको आग्रह र सल्लाहले नै गाउँ÷गाउँका समस्या र भावनालाई मनमा राखि उम्मेदवारी दिन लागेको पनि उनको स्पष्टोक्ति थियो । उनले आफू पत्रकारिताको राजनीतिलाई विश्राम दिँदै अब पार्टीको राजनीतिमा प्रवेश गर्न लागेको सुनाए ।

धनगढी महानगरपालिकाका मेयरसमेत रहेका केन्द्रीय सदस्यका प्रत्यासी नृपबहादर वडले नेपाली कांग्रेसको नीति र विधिलाई कार्यान्वयन गर्नको लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

कोभिड–१९ को महामारीमा आफू नेतृत्वको महानगरमा आफु र कांग्रेसले नियन्त्रणको लागि राम्रो काम गरेको पनि उनले सुनाए । उनले आफ्नो पालामा तीन पटकसम्म राम्रो काम गरेवापति ‘महानगर पुरस्कृत’ भएको समेत बताए । युवा, महिला, दलितहरुलाई सम्मान गर्दै युवाहरुलाई अब नेतृत्वमा अघि बढाउनेमा आफु पनि केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा उत्रिन लागेको उनले सुनाए ।

उनले दलिततर्फबाट उम्मेदवारी दिनेपनि जानकारी दिए । देउवा पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको वडको भनाई छ ।

त्यस्तै, केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेकी युवा नेत्री तथा व्यवसायी कल्पना अधिकारीले विगत लामो समयदेखि नेपाल ट्रेड युनियन कांग्रेसमा रहेर काम गरेको बताईन् ।  अधिकारीले श्रमिक संस्थामा नयाँ पुस्तालाई हस्तान्तरण गर्दै नेपाली कांग्रेसको ३ पटकसम्म महासमितिको सदस्य भएपछि आज केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिन लागेको बताइन् ।

उनले एकल महिलाको प्रतिनिधित्व गर्दै सम्पुर्ण क्षेत्रलाई समेट्नेगरि उम्मेदवारी दिन लागेको जानकारी दिइन् । आफु केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आफुजस्तै एकल महिला तथा सम्पुर्ण महिलाहरुलाई अगाडि बढाउन प्रभावकारी कदम चाल्ने पनि अधिकारीले बताइन् । नयाँ नेतृत्वलाई चयन गर्नपर्ने उनले धारणा राखिन् ।

त्यस्तै, केन्द्रीय सदस्यका उम्मेद्धवार नेता श्याम घिमिरेले १४औं महाधिवेशनमा पार्टी सभापतिमा एकपटक शेरबहादुर देउवालाई नै जिताउनुपर्नेमा जोड दिएका छन् ।  उनले एकपटक सभापतिमा देउवालाई नै अघि बढाउनुपर्नेमा जोड दिए ।  उनले सभापति देउवाले नै देशमा समावेशी राजनीतिको सुरुवात गरेको स्मरण गराए ।  उनले भने,‘सभापतिमा देउवालाई हराउनपर्छ, देउवा सभापति हुँदैहुँदैन भन्ने समूहमा बरु विभाजन छ, मतभिन्नता छन्, तर देउवालाई मान्ने मान्छेहरुभित्र विरोधाभाषा छैन् । देउवा त आफ्नो समूहमा सर्वसम्मत नेता हुनुहुन्छ । समावेशी राजनीतिको सुरुवात गर्ने व्यक्ति देउवा हो । कमैया मुक्ती सुधारको लागि पनि उहाँले काम गर्नुभएको छ । देउवाका सवल पक्ष बढि छन् । देउवालाई एकचोटी सभापति बनाउँदा अब कांग्रेस पहिलो दल बन्छ । उहाँसँग समन्वयकारी क्षमता छ ।’

उनले आफूले यसपटक केन्द्रीय सदस्यतामा उम्मेद्धवारी दिने घोषणा गरे । उनले भने,‘मैले पार्टी सदस्यताको विषय लामो समयदेखि उठाउँदै आएको विषय हो । सबैको लागि खुल्ला हुनुपर्छ । आफ्नो सदस्यतामा बन्देज गर्नुहुँदैन् । सदस्यता लिएको कति वर्षपछि निर्वाचनमा भाग लिन पाउने हो ? बरु त्यो व्यवस्था गर्नुपर्छ । तर कसैलाई पनि सदस्यताबाट वञ्चित गर्नुहुँदैन् ।’

घिमिरेले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै भने,‘खुल्ला अर्थनीति, विश्व बजारीकरण, वैज्ञानिक र प्रगतिशील कर प्रणाली नै कांग्रेसका मूल नीति हो । यसको साथै, अत्यधिक सामाजिक सुरक्षा नीति हुनुपर्छ । कांग्रेस भनेको उत्पादनमा विश्वास गर्ने दल हो । उत्पादनमा जोड दिन सकियो भने मुलुकमा आन्तरिक रोजगारी सिर्जना हुन्छ। हात हातमा पैसा हुन्छ। त्यसैले कांग्रेसले अत्यधिक उत्पदानमा जोड दिनुपर्छ । नेपाली कांग्रेस भनेको लोकातिन्त्रक शक्ति हो । राष्ट्रिय रुपमा लोकतान्त्रिक शक्तिसँग मित्रता र एकतालाई अघि बढाउनुपर्छ । सहकार्य गर्नुपर्छ । यही कुरा अन्तर्राष्ट्रिय शक्तिसँग पनि लागु हुन्छ । अब कांग्रेसभित्र वैचारिक अवधारणामा सुधार गर्नुपर्छ ।’

त्यस्तै, केन्द्रीय सदस्यका उम्मेद्धवार दिवानसिंह विष्टले पनि केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा गरेका छन् । उनले आफूलाई विजयी गराउन महाधिवेशन प्रतिनिधिहरुसँग मतसमेत मागे ।

उनले विपीको समाजवादलाई आफूले सक्रियता साथ अघि बढाउने पनि विश्वास दिलाए । उनले आफूले नेपाली जनताका मुद्दा उठाउँदै आएको सुनाउँदै अब राष्ट्रिय मुद्दा सधैं उठाउने पनि विश्वास व्यक्त गरे ।

देशमा विद्यमान गरिबीको अन्त्य गर्दै मुलुकमै रोजगारीको सिर्जना गर्ने पनि बताए । उनले भने,‘चाकरी प्रथाको विरुद्धमा मेरो उम्मेद्धवारी हो । सभापतिमा, को उठ्छ ? यो ठूलो पार्टी हो । धेरै नेता छन् । शेरबहादुर देउवाजीपनि सभापतिमा उठ्छु भन्नुभएको छ । रामचन्द्र र शशांकमध्ये एकजना हुनुपर्छ । सबैले मौका पाउनुपर्छ ।’

प्रतिक्रिया