राष्ट्रियसभा चुनावः २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने


काठमाडौं – निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ।

मंगलबार आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल प्रेस विज्ञप्ति जारी गरेर १२ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरिएको जानकारी गराएका हुन्।

जारी विज्ञप्तिमा २० पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। त्यस्तै, २१ पुसमा उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ पुसमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘मिति २०७८–१०–१२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि मिति २०७८–९–१ गतेदेखि ऐ. १० गतेसम्म दर्ता गर्नुपर्नेगरी मिति तोकेको छ।’

यसका साथै सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने पनि आयोगले जनाएको छ।

प्रतिक्रिया