

कांग्रेस महाधिवेशनः प्रदेशमा देउवा बलिया, यस्तो छ ६ वटा प्रदेशमा देउवा र पौडेलको नतिजा

काठमाडौं — नेपाली कांग्रेसको ६ प्रदेशमा प्रदेश अधिवेशन सकिएको छ । जसअनुसार प्रदेश सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवा प्यानलले ४ स्थानमा बाजी मारेको छ भने बरिष्ट नेता रामचन्द्र पौडेल प्यानलले २ प्रदेशमा जित हात पारेको छ ।
सोमबार बिहानसम्म घोषित परिणामअनुसार सभापति देउवा समूहले प्रदेश १, बागमती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जित हात पारेका छन् ।
त्यस्तै प्रदेश १ मा सभापति उद्धव थापा विजयी भएका छन् । थापाले प्रतिस्पर्धी पौडेल समूहका गुरु घिमिरेलाई २ मतले पराजित गर्दै प्रदेश सभापतिमा विजयी भएका हुन् । थापाले ८४४ मत ल्याएका छन्। १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन्। प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।
त्यस्तै बागमती प्रदेशमा देउवा प्यानलका इन्द्र बानियाँ विजयी भएका छन् भने प्रदेश १ मा देउवा र सिटौला समूहका उद्धव थापा विजयी भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा कांग्रेस नेता रामचन्द्र पौडेल प्यानलका अमरसिंह पुनः विजयी भएका छन् ।
बानियाँले पौडेल प्यानलका जगदशीश्वर नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् भने थापाले गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०२४ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । २०२६ मत खसेकोमा १३ मत बदर भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । संस्थापनइतर समूहका पुनले संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई हराएका हुन् । पदाधिकारीमा पुन प्यानलकै वर्चस्व देखिएको छ ।
त्यस्तै गण्डकी प्रदेशको सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित भएका छन् । शर्माले देउवा प्यानलका प्रतिस्पर्धी अर्जुन जोशीलाई पराजित गरेका हुन् । निबार सम्पन्न निर्वाचनमा शर्माले ६ सय १३ मत ल्याउँदा जोशीले ५ सय २८ मत ल्याए ।
त्यस्तै कर्णाली प्रदेशमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही विजयी भएका छन् । शाहीले पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन्।
ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए। अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए।
त्यस्तै सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिममा देउवानिकट नेता बिरबहादुर बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन्।
कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए ।
प्रदेश नं. २ मा भने महाधिवेशनपछि प्रदेश अधिवेशन हुने जनाइएको छ ।

