

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

लमजुङ – डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।
गए राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर भएका अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक पटेल भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएका थिए। पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
मोटरसाइकल चालक बेँसीसहर नपा–१ उदीपुरका २१ वर्षीय सुजन खवासलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।

