विदेश पढ्न दश बर्षमा चार लाखले लिए नो अब्जेक्सन लेटर
काठमाडौं– केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेकी प्रियङ्का झा पालो आउने हो कि होइन भनेर चिन्तित थिइन्, सँगै कोरोनाको डर पनि उत्तिकै थियो ।
‘यस्तो भीड छ, कोरोना लाग्यो भने के गर्ने ? फेरि नलिई पनि भाको छैन । बाध्यता छ । भारतमा एमबीबीएको नि:शुल्क पढाइ हुन्छ । त्यसैको प्रोसेसका लागि आएकी हुँ । हिजो पनि आएको, काम बनेन । आज लेटर पाइएन भने कामै हुँदैन,’ उनले गुनासो गरिन् ।
डडेल्धुराका विपिन चटौत पनि मेडिकलका लागि नै एनओसी लिन आएका रहेछन् । ‘हिजो पनि आएको, अनलाइनको सर्भर डाउन भयो भनेर काम भएन । आज म्यानुअल फारम भरेर बुझाएको छु । भारतमा फ्रिमा पढ्न पाइन्छ, यहाँ पढ्न धेरै पैसा चाहिन्छ । नेपालमा फ्रिमा पढ्न सरकारी कोटा छ, तर कम छ । त्यसैले भारतका लागि लेटर लिन आएको हुँ,’ उनले भने ।
लाइनमा भएका अधिकांश मेडिकल पढ्न भारत जानका लागि एनओसी लिन आएका थिए ।
त्यहीँ लाइनमा थिइन् काभ्रेकी फूलमाया तामाङ र इन्दु तामाङ । उनीहरू जापानका लागि एनओसी लिन आएका थिए ।
‘हिजो हानाहान नै भयो । कति त घाइते नै भए । सर्भर बिग्रेर पाइएन । आज बिहान ५ बजे नै काभ्रेबाट आएको । फारम बुझाएका छौँ । पाउने नपाउने ठेगान छैन,’ फुलमायाले भनिन्, ‘सबै साथी विदेशमै छन् । पहिलेदेखिकै इच्छा थियो । पढ्न र कामका लागि जान लागेको नि !’
सिन्धुपाल्चोकका प्रकाश गुरुङ पनि जापानका लागि एनओसी लिन आएका थिए । ‘पढाइसँगै काम पनि गर्न पाइन्छ । यहाँ अवसर छैन । विदेशमा पढ्न पाइने र काम पनि पाइने । कामअनुसार कमाइ पनि हुन्छ,’ उनले भने ।
अधिकांशको भनाइ थियो, ‘विदेशमा करियर, पढाइ र काम पाइन्छ । नेपालमा अवसर नै नभएकाले विदेश जान लागेका हौँ ।’
नो अब्जेक्सन लेटरका लागि तोडफोड
सरकारले गत साउनदेखि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेको थियो । तर आइतबार अनलाइनले काम गरेन । लेटर लिन आउने विद्यार्थीको भीड बढ्यो । कार्यालयले थेग्नै सकेन । तोडफोड र हात हालाहालसम्म भयो । आक्रोशित विद्यार्थीले कार्यालयको झ्यालका सिसासमेत फुटाए ।
कोरोना भाइरसका कारण एनओसी दिन बन्द गरिएको थियो । विदेशमा उच्च शिक्षाका लागि भर्ना खुलेकाले गत भदौकाे दोस्रो साताबाट फेरि दिन सुरु गरिएको हो । त्यसैले केही दिनयता सयौँको संख्यामा विद्यार्थी एनओसीका लागि पुग्ने गरेका छन् । विद्यार्थीहरू बिहान ५ बजे नै लाइन लाग्न पुग्छन् ।
दैनिक ३ सयभन्दा बढीले लिन्छन् एनओसी
तीन दिनयता भारतमा मेडिकल पढ्नका लागि मात्र ३ हजारको हाराहारीमा विद्यार्थीले एनओसी लिएका छन् । बिहान ७ देखि बेलुका अबेरसम्म पनि काम गरिरहेको शाखाका प्रमुख दिलनाथ पुरीले बताए ।
‘कोभिडका कारण छ महिना काम रोकियो । भारतमा मेडिकल इन्ट्रान्स खुलेकाले विद्यार्थीको भीड बढेको हो,’ उनले भने, ‘विदेशमा भर्नाको सिजन भएकाले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थी धेरै छन् । जापान, दक्षिण कोरिया, अस्ट्रेलियालगायत इजाजतप्राप्त अन्य देशमा पनि भर्नाको सिजन भएकाले एनओसीका लागि विद्यार्थी आएका हुन् ।’
अनलाइन र अफलाइन दुवै माध्यमबाट काम भइरहेको उनले बताए । ‘अनलाइन र अफलाइन दुवैको माध्यमबाट काम गरेका छौँ । भारतमा इन्ट्रान्स दिने डाक्टरको समस्या सकियो । अब अन्य देशको काम अगाडि बढ्छ,’ उनले भने ।
शाखाका अनुसार कोभिडका कारण बन्द भएर खुलेयता दैनिक साढे ३ सयभन्दा बढी विद्यार्थीलाई एनओसी दिइएकाे शाखाका प्रमुख पुरीले जानकारी दिए । उनका अनुसार आज मात्रै ५ सयभन्दा बढी पुग्ने देखिन्छ ।
शाखामा विद्यार्थीको अत्यधिक भीड भएपछि जनस्वास्थ्यको मापदण्ड पालना गर्न नसकिएको शाखाका प्रमुख पुरी बताउँछन् । ‘सबै सचेत छौँ । तर, विद्यार्थीको भर्नाको अन्तिम समय छ । रोक्ने कुरा भएन । कोरोनाको भन्दा करियरको चिन्ता विद्यार्थीलाई देखिन्छ । पढाइ र अवसर भनेर विद्यार्थी आएका छन् । मापदण्ड पालनामा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘कसरी व्यवस्थापन गर्ने भन्नेबारे मन्त्रालयमा छलफल भइरहेको छ । ’
डरलाग्दो तथ्यांक
बर्सेनि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या बढिरहेको छ । विगत एक दशकको तथ्यांकले लेटर लिने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ ।
चालू आर्थिक वर्ष २०७७/०७८ सुरु भएयता ३ हजार ६ सय ७० जनाले एनओसी लिएका छन् । अनलाइन आवेदन भर्नेको संख्या ९ हजार ४ सय ५५ रहेको शाखाले जनाएको छ । शाखाको तथ्यांकअनुसार एक दशकको अवधिमा ४ लाख विद्यार्थीले एनओसी लिएका छन् ।
विद्यार्थीको रोजाइका देश
शखाका प्रमुख पुरीले अस्ट्रेलिया, जापान, कोरिया, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तानलगायतका देशमा मेडिकल, व्यवस्थापन, आईटी, होटल म्यानेजमेन्ट, इन्जिनियरिङ, वन विज्ञान, कृषिका लागि विद्यार्थीहरूले एनओसी लिने गरेको बताए ।
गत आर्थिक वर्षमा अस्ट्रेलियाका लागि धेरै विद्यार्थीले एनओसी लिएको शाखाले जनाएको छ । गत आथिर्क वर्षमा अस्ट्रेलियाका लागि १० हजार ७२ जना विद्यार्थीले एनओसी लिएका छन् ।
गत आर्थिक वर्षमा जापानका लागि ६ हजार १ सय १०, साइप्रसका लागि २ हजार ४ सय ३८, भारतका लागि २ हजार ४२, दक्षिण कोरियाका लागि १ हजार ७ सय ८६, बेलायतका लागि १ हजार ६ सय ८, चीनका लागि १ हजार ३ सय ३ जना विद्यार्थीले एनओसी लिएका छन् ।
एनओसी लिएका सबै विद्यार्थी विदेश जान्छन् त ?
एनओसी लिएका सबै विद्यार्थी विदेश जान्छन् भन्ने छैन । कति देशमा भिसा लागेपछि शुल्क तिर्न, कति देशमा प्रोसेस गर्न र डलर सटहीका लागि एनओसी लिने हो ।
‘एनओसी लिँदैमा सबै विद्यार्थी विदेश जान्छन् भन्ने छैन,’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले भने, ‘अमेरिकाका लागि भिसा लागेपछि एनओसी चाहिन्छ । अरुका लागि प्रोसेसिङ र डलर सटहीका लागि एनओसी चाहिने हो । एनओसी लिँदैमा भिसा लाग्ने भन्ने हुन्न । त्यसैले एनओसी लिएका सबै विदेश जान्छन् भन्ने हुँदैन । अस्ट्रेलियाका लागि एउटै व्यक्तिले दुईवटासम्म लेटर लिएको हुन्छ । नो अब्जेक्सन लेटरको संख्याले टोटल विद्यार्थीको संख्या देखाउँदैन ।’
कोभिडका कारण रोकिएको काम फेरि सुरु भएकाले विदेश जान चाहने विद्यार्थीको संख्या बढेको उनले बताए । ‘अघिल्लो वर्षदेखि नै तयारी गरेका विद्यार्थीको प्रक्रिया कोरोनाले रोकिएको थियो । अहिले बोर्डरहरू खुलेको र कतिपय देशले भिसा दिन सुरु गरेकाले नो अब्जेक्सन लेटर लिनेको संख्या बढेको हो,’ उनले भने ।
नेपालमा गुणस्तरीय शिक्षा, अवसर र रोजगार नभएकाले नै विद्यार्थीको रोजाइ विदेश भएको उनी बताउँछन् ।
‘हाम्रो शिक्षा कसरी गइरहेको छ ? रोजगारको अवस्था कस्तो छ ? अवसर के छ ? आज भारतबाट आएका यहाँ काम नपाएर फर्किन थालेका छन् । भोलि पढेपछि रोजगार पाउने नदेखेर विद्यार्थी विदेशमै जान चाहिरहेका छन्,’ उनले भने, ‘अवसरको भोकाे भएर विदेश गएका हुन् । यहाँ अवसर हुन्थ्यो भने विदेश को जान्थ्यो ?’
अध्यक्ष पाण्डे उच्च शिक्षाका लागि विदेश जाँदैमा डराउनु नपर्ने बताउँछन् । ‘यहाँ राम्रो कोर्स, राम्रो कलेज छैन । विद्यार्थीले चाहेअनुसार पढ्न पाउँदैनन् । त्यसैले राम्रो कोर्स र कलेजमा पढ्न विद्यार्थी विदेश गएका हुन् । विदेशमा पढेपछि सरकारले फर्काउन सक्नुपर्छ । नेपालमा काम दिन सक्नुपर्छ । अमेरिका अस्ट्रेलिया गएका कम फर्किन्छन् तर अरु देश गएका नेपाल नै फर्किने हो । विदेशमा जस्तै अवसर हुने हो भने सबै नेपाल नै फर्किन्छन्,’ उनले भने, ‘विदेशको जस्तै सेवा सुविधा नेपामा पनि दिइनुपर्छ । सरकार स्वदेश फर्क भन्छ, फर्केर के गर्ने त्यो थाहा छैन ।’
उच्च शिक्षाका लागि बर्सेनि ३० हजारको हाराहारीमा विद्यार्थी विदेश जाने गरेका छन् । पढ्नकै लागि १० लाखदेखि २५ लाख रुपैयाँसम्म खर्च गरेर विद्यार्थी विदेश जान्छन् । तर नेपालमा सेवा सुविधा राम्रो नभएपछि उनीहरू उतै पलायन हुन्छन् ।