कांग्रेसको वडा अधिवेशनमा मन्त्रीका पिएसओले गोली चलाए


काठमाडौं – नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ। गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन्।

जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका पिएसओले गोली चलाएका स्रोतले जनाएको छ।

आइतवार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फायर गरेका हुन्।

स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए।

लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोके। त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रक्रिया अगाडि बढएको आरोप लगाउँदै गालीगलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ।

मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेबल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिहं र उनीसँगै गएका कार्यकर्तामाथि जाइलागेका थिए। सोही क्रममा सिंहसगै‌ रहेका पिएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउण्ड गोली चलाएका हुन्।

त्यसपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ। भीडले प्रहार गरेको कुर्सीले लागेर प्रहरी हवल्दार खंगको टाउकोमा समेत चोट लागेको छ। सोही क्रममा अर्का एक जना कांग्रेस कार्यकर्ता रामचन्द्र महतोसमेत घाइते भएको प्रहरी जनाएको छ।

मन्त्री सिंहका पिएसओले गत २ मंसिरमा पार्टी कार्यलयमा कांग्रेसका दुई पक्षबीच छलफलका क्रममा भएको विवादमा समेत पेस्तोल निकालेका थिए।

त्यसवेला समेत आक्रोशित नेताकार्यकर्ताको भीडले मन्त्री सिंह, उनका पिएसओ र तत्कालीन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेमाथि कुटपिट गरेका थिए।

अहिले घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी माधव प्रसाद बुढाथाकीले जानकारी दिए।

प्रतिक्रिया