विद्यालय चलाउन अदुवाखेती


रोल्पा – विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका-२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।

‘अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने । उनका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ ।

‘यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौँ’, विद्यालयका शिक्षक होमबहादुर खड्काले भने, ‘उत्पादितमध्ये पाँच क्विन्टल निकालिसकेका छौँ, अरु निकाल्न बाँकी छ ।’ विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेलीस्वरुप विवतरण गरिरहेको जनाएको छ ।

विद्यालय आफैँले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग सङ्कलन गर्न कोसेलीस्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ ।

कोशेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवाखेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरुको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको हो ।

प्रतिक्रिया