केपी ओली दृढ अडान भएको नेता होः कमल थापा


काठमाडौं – चितवनको भरतपुरमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका छन्।

देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो रहेको बताउँदै थापाले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य गरेको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

अध्यक्ष थापाले ओलीको प्रशंसा गर्दै भने, ‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पु¥याउन सक्नेछ।’

साथै उनले विप्लव र सिके राउतलाई राष्ट्रिय मूल धारमा ल्याएको भन्दै ओलीको प्रशंसा गरे। थापाले एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्ति र देशको सबैभन्दा ठूलो राजनीतिक दल रहेको बताए।

यो महाधिवेशनलाई देश विदेशका शक्तिहरुले उत्सुकताका साथ हेरिरहेको उल्लेख गर्दै थापाले २०६३ सालको राजनीतिक परिवर्तन पछि दिगो शान्तिको लक्ष स्थायित्व र समृद्धिको बोकेर राजनीतिक यात्रा सुरु गरेपनि हिजो कहाँ पुग्ने भनेर हिँडेको र आज कहाँ आइपुगेका छौं भन्ने प्रश्नलाई महाधिवेशनका प्रतिनिधिहरुले गम्भीर रुपले समीक्षा गर्ने आशा लिएको बताए।

ओलीसँग एउटै सरकारमा रहेर केही समय काम गर्ने अवसर पाएको बताउँदै त्यसबेला भारतीय नाकाबन्दीले देशले कष्ट भोगेको स्मरण गरे। उनले ओली नेतृत्वको पछिल्लो सरकारबाट भने आफू सन्तुष्ट हुन नसकेको उल्लेख गरे।

प्रतिक्रिया