जसपा सांसद प्रदीप यादवको केन्द्रीय सदस्य पद खोसियो


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को कार्यकारणी समितिको बुधबारको बैठकले पर्सा जिल्लाका सांसद प्रदीप यादवलाई केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रस्तावमा यादवलाई कारबाही गरिएको हो। विगतमा पार्टी विभाजनको प्रयास गरेको तथा पछिल्लो गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष यादवको पुत्ला जलाएको लगायत आरोपमा उनीमाथि कारबाही गरिएको हो।

तर पार्टीको साधारण सदस्यता भने कायमै राखिएको छ। सांसद समेत रहेका उनको सांसद पद भने जोगिएको छ। पार्टीको साधारण सदस्यता पनि खोसिएको भए उनको सांसद पद समेत जाने थियो।

यादवबारे थप छानबिन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा एक छानबिन समिति समेत गठन गरिएको बताइएको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा प्रदीपले पार्टी फुटाउने प्रयास गरेको आरोप लागेको थियो।

यादवले सरकारमा जान नपाउँदा पार्टी अध्यक्ष यादवको विरोधमा वीरगञ्जदेखि काठमाडौंसम्म विरोध जुलुस गरेका थिए। त्यसकारण यादवलाई पार्टीले स्पष्टिकरण सोधेको थियो। यादवले जवाफ दिएपनि अनुशासन समिति सन्तुष्ट हुन सकेको थिएन्।

यादव पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित छन्। यादवलाई केन्द्रीय समितिबाट हटाएर उनका विरोधी मानिएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

सरावगीलाई यसअघि प्रदेश कमिटीको कोषाध्यक्षवाट हटाइएको थियो। सरावगी पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन्। बैठकले सांसद सूर्यनारायण यादव, चन्देश्वर सदा समेत पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

प्रतिक्रिया