

गोलाप्रथाको निर्णयमा न्यायाधीशहरु नै अलमलमा

काठमाडौं – सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको सक्रियतामा बुधबार फुलकोर्ट बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज सर्वोच्च अदालतमा उपस्थित भए पनि फुलकोर्टमा भने प्रत्यक्ष सहभागी भएनन् ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू फुलकोर्ट बसेर पेसी व्यवस्थापन गोला प्रथाबाट गर्ने निर्णय गरेका थिए । उक्त निर्णयलाई प्रधानन्यायाधीशले सदर गरेपछि त्यस बमोजिम सर्वोच्च अदालत नियमावलीमा संशोधन गरिएको छ । तर, उक्त संशोधनमा न्यायाधीशहरु आफैँ अलमलिएपछि आजको बैठक यही विषयमा केन्द्रित बनेको छ ।
पछिल्लो निर्णयअनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रूपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्ने छ । उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्ने छन् । प्रधानन्यायाधीश जबराले समितिको अध्यक्षता गर्ने गरी भएको नियमावली संशोधनमा अहिले न्यायधीसहरु आफैँ अलमलिएको स्रोतले बताएको छ ।
प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने निर्णय गरेका उनीहरु समितिमा बस्ने कि नबस्ने दोधारमा छन् ।

