प्रहरी हेडक्वार्टरको लापरबाहीः एसएसपीमा बढुवा सिफारिस भएका एसपीको सरुवा!


काठमाडौं – २९ कात्तिकमा गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गर्ने निर्णय गर्यो।

सामान्यतया बढुवा सिफारिस भएको व्यक्तिलाई विवाद नआएमा एक हप्तापछि मात्र फुली लगाएर पदस्थापना गर्ने प्रचलन छ। सोही अनुसार एसएसपी बढुवामा सिफारिस भएका ८ जनाले आज मात्र फुली लगाउन पाउँछन्।

तर, फुली लगाउन २ दिन बाँकी हुँदा बढुवा सिफारिसमा परेका तीनजना एसपीको ख्यालै नगरी प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ। बढुवा सिफारिसमा परेका एसपीत्रय अनुराग द्धवेदी, टिका बहादुर केसी र धुव्रराज राउतको ४ मंसिरमा अचानक सरुवा भएको छ।

बढुवा भएर फुली लगाएपछि मात्र सरुवा गर्ने प्रचलन रहेपनि उनीहरु तीनजनाको भने अन्य एसपीहरु सरह सरुवा निस्केको हो। गृह मन्त्रालयले कम्प्युटर कोड २२३२७ र संकेत नम्बर सी ०००००१६३ रहेका एसपी द्विवेदीलाई एसएसपीमा बढुवा सिफारिस गरेको पत्र हेर्नुहोस्।

बढुवा नम्बर ३ मा परेका उनै द्विवेदीलाई प्रहरी प्रधान कार्यालयले ख्यालै नगरी बढुवा हुन २ दिन बाँकी रहँदा एक नम्बरमै मानव बेचविखन अनुसन्धान ब्यूरो मानव बेचविखन अनुसन्धान शाखाबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढी कैलालीमा सरुवा गरेको छ।

त्यस्तै उनी मात्रै होइनन् एसपीद्वय कम्प्युटर कोड ३२४५७ का केसी र कम्प्युटर कोड नम्बर २६८०४ का राउतको पनि सरुवा भएको छ। केसीको काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर सरुवा भएको छ।

यसैगरी राउतलाई प्रहरी प्रधान कार्यालय यूएन जगेडा नक्सालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल पठाइएको छ। एसएसपीमा बढुवा भएको उनीहरुको आज ७ दिन पूरा भएको छ।

प्रहरी प्रधान कार्यालयको लापरबाहीले बढुवा सिफारिस भएका प्रहरी अधिकारीको सरुवा भएको बहालवाला एक प्रहरी अधिकृतले अनलाइनन्युज७ लाई बताए। ‘मानवस्रोत एवं प्रशासन विभागका कर्मचारीको लापरबाहीले यस्तो भएको हो,’ ती अधिकृतले भने।

प्रहरी इतिहासमै अहिलेसम्म बढुवा सिफारिसमा परेका कर्मचारीको सरुवा भएको पाइएको छैन।

प्रतिक्रिया