सबैभन्दा बढी आयकर बुझाउने सम्मानित, व्यक्ति सिद्धार्थ राणा र कम्पनी नेपाल टेलिकम
काठमाडाैं – आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई सबैभन्दा धेरै आयकर बुझाउने सिद्धार्थशमशेर राणा सम्मानित भएका छन्। आन्तरिक राजस्व विभागले बुधबार १०औं राष्ट्रिय कर दिवसको अवसरमा उनी सहित धेरै आयकर बुझाउने व्यक्ति र संस्थालाई सम्मान गरेको हो।
गत आर्थिक वर्षमा संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थशमशेर राणाले सर्वाधिक आयकर तिरेका थिए। राणा लगातार ६ वर्षसम्म सबैभन्दा धेरै आयकर बुझाउनेको सूचीमा पर्दै आए पनि आर्थिक वर्ष २०७६/७७ मा भने दोस्रो स्थानमा थिए।
राणाकाे सिप्रदी ट्रेडिङ सहित होटल, जलविद्युत् लगायत क्षेत्रमा लगानी छ। विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य र शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल तथा पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई बढी आयकर तिरेकोमा सम्मान गरेको छ।
त्यस्तै, वाणिज्य ब्यांकतर्फ सबैभन्दा धेरै आयकर तिर्ने नबिल ब्यांक, बीमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी र लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएका छन्। सबैभन्दा धेरै आयकर बुझाउनेमा जलविद्युत्तर्फ हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा डाबर नेपाल छन्।
व्यापारतर्फ भाटभटेनी, विशेष उद्योगतर्फ एशियन पेन्ट्सले सबैभन्दा धेरै आयकर तिरेकाले उनीहरूलाई पनि सम्मान गरिएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउने सूर्य नेपाल र सिमेन्टतर्फ घोराही सिमेन्टलाई पनि सम्मानित गरिएको छ।