


असई महतोसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक ९असई० सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले मंगलबार बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
असई महतोमाथि आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति सच्चाई प्रहरीमा भर्ना भएको आरोप छ। अनुसन्धान हुँदा असई महतोले जन्म मिति सच्चाएर प्रहरीमा भर्ना गरेको पाइएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए। साथै जवानबाट उनी सोही नक्कली प्रमाणपत्र पेस गरी असईमा बढुवा भएका थिए।
उनीसँगै सरस्वती माध्यमिक विद्यालय, पिपरा, रौतहटमा तत्काल कार्यरत प्रधानाध्यापक रवीन्द्र झा र शिक्षक मुकेशकुमार सिंहविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूले प्रमाणपत्र जारी गर्दा जन्म मिति सच्याएर आफूहरूलाई फाइदा हुने काम गरेको अख्तियारले जनाएको छ।

