आँट नभएकाहरु एमालेको बन्द ढोकाबाहिर रोइरहेका छन् : माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विद्रोह गर्ने आँट नभएकाहरू एमालेको बन्द ढोकाबाहिर रोईरहेको बताएका छन् ।

अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी विभाजनको क्रममा आफ्नो साथ छाडेका १० नेता आँट नभएकै कारणले बन्द ढोकाबाहिर रोइकराइ गरिरहेको भन्दै कटाक्ष गरेका हुन् ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्‍याउनको लागि एमालेबाट विद्रोह गरेका हौँ। किन विद्रोह गरेको त्यहीँ संघर्ष गरेको भए हुन्थ्यो भन्ने कुरा आउँछ। तर, त्यहाँ हामी निस्सासिएर बस्‍नुपर्ने अवस्था बन्यो।’

अध्यक्ष नेपालले भने, ‘हामीलाई एमालेमा जहाँ ढोका बन्द गरियो। छिर्न दिइएन। छिर्न दिए पनि निकाल्‍ने अवस्था रह्यो। त्यस्तो अवस्थामा प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति बन्छ। कि त नयाँ संघर्ष गर्नुपर्छ। अहिले आँट नभएकाहरू त्यही ढोकाबाहिर रोएर कराएर बसिरहेका छन्।’

पार्टीबाट विद्रोह गरेर आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाएर नयाँ सोचका साथ पार्टी अगाडि बढेको उनको भनाइ छ।

अब नेकपा एमालेको अखिल नेपाल किसान महासंघको अवशेष मात्रै बाँकी रहेको उनले दाबी गरे। अध्यक्ष नेपालले पाँचदलीय मोर्चाले संविधान र लोकतन्त्रको रक्षा गरेको दाबी गरे। जनताको चाहना र मागलाई माथि उठाउन सके मात्रै लोकप्रिय पार्टी बन्न सक्ने उनको भनाइ छ।

प्रतिक्रिया